वेबटिभी खबर
काठमाडौं । चीनको बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता खारेज गरेपछि अष्ट्रेलिया शीत युद्धको मानसिकता एवं वैचारिक पक्षपात त्यागेर निर्णय फिर्ता लिन चीनले आग्रह गरेको छ ।
यदि अष्ट्रेलियाले निर्णय फिर्ता नलिए चीनले उपयुक्त कदम चाल्ने विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले बिहीबार पत्रकार सम्मेलनमा बताएका छन् ।
उनले बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाले अन्तर्राष्ट्रिय आर्थिक सहयोगको पहल भएकाले व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभका लागि सिद्धान्तहरुको अनुसरण गरेर उदारता, समावेशी र पारदर्शिताको भावनालाई बढावा दिने बताएका छन् ।
उनले भने, ‘भिक्टोरिया प्रान्तको चीनसँग सहकार्य गर्ने निर्णय बीआरआई संरचनाअन्तर्गत थियो, यो दुवै पक्षका लागि लाभदायक हुन सक्थ्यो। यो राम्रो पहल हो । अष्ट्रेलिया सरकारले भिटोमार्फत भिक्टोरिया र चीन सरकारबीचको बीआरआई सहयोग सम्झौता रद्द गर्नु दुई देशहरूबीच सहकार्य र सामान्य आदानप्रदान र द्विपक्षीय सम्बन्ध एवं पारस्परिक विश्वासलाई कमजोर पार्ने खेल हो ।’
अष्ट्रेलियालाी शीतयुद्धको मानसिकता र वैचारिक पक्षधरता त्यागेर, गल्तीलाई तुरुन्तै सच्याएर निष्पक्ष तरिकाले चीन–अष्ट्रेलियाबीच पहिलेदेखि बिग्रिएको सम्बन्ध थप गम्भीर हुनबाट बचाउन प्रवक्ताले आग्रह गरेका छन् ।
चीनसँग यी दुवै सम्झौता सन् २०१८ र २०१९ मा भिक्टोरिया प्रान्तले गरेको थियो । भिटो पावरको प्रयोग गरेर अष्ट्रेलियाले सम्झौता खारेज गरेको हो । विदेश मन्त्री मेराइस पेनले अष्ट्रेलियाको विदेश नीति र राष्ट्रिय सुरक्षा एवं हितलाई ध्यानमा राखेर चीनसँगको सम्झौता अन्त्य गरेको बताएकी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij