वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री निवास बालुवाटारमा डिनर खान बोलाएर त्यत्तिकै फर्काएको बताएका छन् । एमालेको धनुषा जिल्ला कार्य समितिद्वारा बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन् ।
बालुवाटारमा बिहीबार राति आठ बजे ओलीले गौतमलाई डिनरका लागि निम्त्याएका थिए । समयमै बालुवाटार पुगेका गौतम र ओलीबीच केहीबेर पार्टीको विवाद समाधानबारे छलफल भएको थियो ।
‘यसपछि गौतमले ओलीलाई पार्टी एकता जोगाउन भूमिका खेल्न सुझाव दिनुभयो । फागुन २८ र त्यसयताका सबै निर्णय फिर्ता लिन भन्नुभयो,’ निवास भैंसेपाटी फर्किएपछि गौतमले नेपाललाई एसएमएस पठाएको बताउँदै नेपालले भने, ‘ओलीले निर्णय फिर्ता लिन्न भनेपछि म त्यत्तिकै हिँडे ।’
वरिष्ठ नेता नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको समेत बताएका छन् । उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । पार्टी गम्भीर संकटको चरणबाट गुज्रि रहेको छ भन्दै उनले संकटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए ।
उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, संघीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।
वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारबाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन छ ।
प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा एमाले नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्दछ भने ।
उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसंग उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij