वेबटिभी खबर
मस्को । जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका चिकित्सकहरुले उनलाई तुरुन्तै भोक हड्ताल अन्त्य गर्न आग्रह गरेका छन् । अप्रिल २० मा गरिएको उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि नाभाल्नीले तत्कालै हड्ताल अन्त्य नगरे उनको छिट्टै मृत्यु हुन सक्ने चेतावनी चिकित्सकले दिएका हुन् ।
‘यदि भोकमरी हड्ताल न्यूनतम समयसम्म पनि जारी रह्यो भने, दुर्भाग्यवस नाभाल्नी हामीसँग हुने छैनन्’ चिकित्सकहरु बताउँछन् । बुधबार हजारौं रसियाली नागरिकहरुले नाभाल्नीको रिहाइका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
राजधानी मस्कोबाट नाभाल्नीको पक्षमा विरोध गरिरहेका एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । ४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनका कट्टर आलोचक हुन् । उनी खुट्टा र ढाडको पूर्ण उपचार गर्न पाउनुपर्ने माग राख्दै फेबु्रअरीदेखि भोक हड्तालमा बसेका छन् ।
सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा नाभाल्नीको झण्डै ज्यान गएको थियो । उक्त घटनामा राष्ट्रपति पुटिनको समेत सम्लग्नता रहेको नाभाल्नीले दाबी गर्दै आएका छन् । तर रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले ती आरोप अस्वीकार गर्दै आएको छ ।
मेडिजोना वेभसाइटमा बिहीबार प्रकाशित चिकित्सकको वक्तव्यमा मंगलबार गरिएको नाभाल्नीको स्वास्थ्य परीक्षणको नतिजाका आधारमा उक्त निष्कर्ष निकालिएको बताएका छन् । मस्कोको पूर्वी सहर भ्लाद्मिरमा रहेको अस्पतालमा नाभाल्नीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
यसअघि नै चिकित्सकले उनको मृगौला र स्नायु प्रणालीमा समस्या भएका कारण लामो समय भोक हड्तालमै रहे नाभाल्नीको छिट्टै निधन हुन सक्ने बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनसहित विश्वका धेरै नेताहरूले नाभाल्नीको स्वास्थ्यमा चासो देखाएपछि उनको उपचार गर्न रुस तयार भएको थियो । अमेरिकाले नाभाल्नीको उपचार नभइ मृत्यु भएमा रुसले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो ।
पुटिनका कट्टर आलोचक नाभाल्नीको छिट्टै ज्यान जान सक्ने चिकिसत्कको चेतावनी
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij