वेबटिभी खबर
काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट बनेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् ।
उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदरकाे माग गर्दै उनीहरूले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
तर गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो । यस विषयमा गृह मन्त्रालयले भने स्पष्टीकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृहसचिव टेकनारायण पाण्डेले बताए ।
नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बोल्दै गृहसचिव पाण्डेले नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने बताएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij