वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बन्दै गएकाे छ । सन् २०२२ को सुरुवाती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । अप्रिल महिनामा ५२ हजार ६६३ बाहिरिएका छन् । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१९ को तुलनामा पर्यटक आगमनदर आधाभन्दा धेरैले बढेको अवस्थामा आइपुगेको बोर्डको विश्लेषण छ । गत वर्षकोभन्दा पर्यटक वृद्धिदर यो वर्ष १६० प्रतिशतले बढेको बोर्डका निर्देशक मणी लामिछानेले बताए ।
यो वर्ष पर्यटक आगमनदर निरन्तर बढिरहेको छ । अघिल्लो मार्च महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
बोर्डको अन्तर्राष्ट्रिय स्रोत बजारमा रणनीतिक बजारीकरण तथा व्यवसायीको कडा मेहनत र लगनशीलताका कारण पर्यटक आवागमन निरन्तर बढिरहेको निर्देशक लामिछानेको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij