वेबटिभी खबर
चितवन । चितवन जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखिएको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि फैलिएको हो ।
अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा २ लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा.प्रभाष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा १ लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर ३ हजार ४७६ वटा, १ हजार ३८० वटा गिरीराजको अण्डा, १ हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।
पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको न्यौपानेले बताए । उक्त फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।
बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तिब्ररूपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहेतिनका लागि राहतप्रति कृषक बिश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ ।
वाग्मती प्रदेश कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्री गर्दा रोग फैलिएको बताए । जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ छ । यो प्रदेशमा सबैभन्दा बढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ ।
सचिव डा.पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तिब्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए । छिमेकी मुलुकहरूमा भ्याक्सिन लगाइरहेपनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ ।
पूर्वी क्षेत्रमा रोगको प्रकोप निकै बढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा १ खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ ।
धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्यांक नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए ।
रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्न नसक्ने अबस्थामा कृषक पुगेको उनको भनाइ छ । हालसम्मकै संकटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij