Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

शिक्षाविद् भन्छन्– शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी

शिक्षाविद् भन्छन्– शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी

  • 2.9K
    SHARES
  • शिक्षाविद् भन्छन्– शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी

    काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबार प्रकाशन गरेको माध्यमिक तहको तृतीय श्रेणीको सामान्य परीक्षाको नतिजामा निकै कम परीक्षार्थी पास भएका छन् । केही विषयमा त एक जना पनि पास भएका छैनन् ।

    शिक्षा सेवा आयोगले शिक्षक भर्ना गर्नका लागि पहिले नै सामान्य (प्रारम्भिक) परीक्षा लिन्छ । त्यसमा उत्तीर्ण भएकाले मात्र स्थायी शिक्षकका लागि लिइने मुल परीक्षामा सहभागी हुन पाउँछ ।

    आयोगका अनुसार संस्कृत व्याकरण, शिक्षा, स्वास्थ्य लगायतका विषयमा एक जनाले पनि सामान्य परीक्षा पास भएका छैनन् । आयोगले गत चैत १५ गते लिएको परीक्षामा ३२ हजार ९७ जना परीक्षार्थी सहभागी भएका थिए । सहभागी मध्ये १२ प्रतिशतअर्थात ३ हजार ८८६ जना परीक्षार्थीहरू मात्रै उत्तीर्ण भए ।

    आयोगले मावि तृतीय श्रेणी तहका लागि १ हजार ५५२ जना शिक्षक माग गरेको छ । आयोगले सामान्य परीक्षामा उत्तीर्ण हुनेलाई सय पूर्णाङ्कको विषयगत लिखित परीक्षा असार ९ गते सहभागी गराउने छ । परीक्षामा थोरै परीक्षार्थी पास हुने कुरालाई आयोगले सामान्य रूपमा लिएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले परीक्षामा तोकिएको अंक ल्याउन नसक्ने परीक्षार्थीहरू फेल भएकाे बताए । उनले भने, ‘नपढ्ने परीक्षार्थीहरूले पनि फारम भर्न सक्छन् । कति प्रतिशत पास भएभन्दा पनि पढ्ने परीक्षार्थीहरू पास भए र नपढ्नेहरू फेल भए भन्नुपर्छ ।’

    प्रतिस्पर्धात्मक परीक्षाको नतिजालाई शैक्षिक योग्यतासँग जोड्न नमिल्ने उल्लेख गर्दै शिक्षक बन्ने क्षमता नभएकाहरू पास हुन नसकेको उनले बताए ।

    प्रतिस्पर्धात्मक परीक्षामा थोरै परीक्षार्थीले मात्र नाम निकाल्नु नौलो कुरा पनि नभएको उनी बताउँछन । उनले भने, ‘लोक सेवा आयोगले लिने कतिपय परीक्षामा माग भएको संख्या भन्दा पनि कम परीक्षार्थीहरूले नाम निकाल्छन् । त्यसकारण नतिजालाई प्रतिशतमा जोडेर हेर्न मिल्दैन ।’

    शिक्षाविद् प्राध्यापक डा.विद्यानाथ कोइराला परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थीको नै कमजोरी भएको बताउँछन् । उनले भने,‘परीक्षा अगावै आयोगले पाठ्क्रम, नमुना पत्र उपलब्ध गराउँदा पनि परीक्षार्थीहरूले नाम निकाल्न सक्दैनन् भने परीक्षार्थीहरूमा नै कमजोरी देखिन्छ ।’

    शिक्षक बन्न आवश्यक पर्ने ज्ञान नहुँदा उनीहरू पास हुन नसकेको उनको भनाइ छ । कमजोर विद्यार्थीहरूले शिक्षा शास्त्र पढ्ने र पढ्नुपर्ने विषयवस्तुमा पनि कमजोर बन्दै गएकाले यस्तो अवस्था आएको उनले बताए । शिक्षा संकायमा कमजोर विद्यार्थीहरू बढेकाले नतिजामा त्यसको परिणाम देखिएको उनी अर्थ्याउँछन् ।

    कुन प्रदेशमा कति परीक्षार्थी पास भए ?

    आयोगले लिएको परीक्षामा सबैभन्दा थोरै मधेस प्रदेशमा र सबै भन्दा धेरै बाग्मती प्रदेशका परीक्षार्थीहरू पास भएका छन् । मधेस प्रदेशमा २ हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा १ सय २० जना (६ प्रतिशत) परीक्षार्थीहरू मात्र पास भएका छन् भने बाग्मती प्रदेशमा ६ हजार २२६ जना परीक्षार्थी सहभागी दिएकामा ८९२ जना (१४ प्रतिशत) परीक्षार्थी पास भएका छन् । मधेस प्रदेशमा १११ र बाग्मती प्रदेशमा ३२८ जना शिक्षकको लागि प्रतिस्पर्धा भइरहेको छ । 

    यस्तै प्रदेश १ मा ८ हजार ७१ जना सामान्य परीक्षामा सहभागी भएकोमा ९८८ जना मात्र पास भएका छन् । प्रदेश १ मा ४१० जना शिक्षकको माग रहेको छ । गण्डकी प्रदेशमा ६ हजार ४ सय ७४ जना परीक्षार्थी सहभागी भएकोमा ८६५ जना पास भएको छन् । यहाँ  ३२१ पदका लागि शिक्षको माग गरिएको छ ।

    लुम्बिनी प्रदेशमा ४ हजार ३५१ जना परीक्षार्थी सहभागी भएकोमा विषगत परीक्षाका लागि ४६५ जनाले नाम निकालेका छन् । यहाँ १५८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको थियो ।

    १ हजार ४७३ जना परीक्षार्थी सहभागी भएको कर्णाली प्रदेशमा १९१ जना पास भएका छन् भने सूदुरपश्चिम प्रदेशमा ४ हजार ८७ जना परीक्षार्थीहरू पहिलो चरणको सामान्य परीक्षामा सहभागी भएकोमा ३६५ जना विषयगत परीक्षाको लागि योग्य ठहरिएका छन् ।

    कर्णालीमा ११७ र सूदुरपश्चिममा १०७ जना शिक्षक नियुक्ति गर्न लागिएको छ । आयोगले देशभरका सामुदायिक विद्यालयका लागि प्रावि, निमावि र मावि तहमा साढे १७ हजार स्थायी शिक्षक नियुक्तिका लागि पहिलो चरणको परीक्षा सञ्चालन गरिसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij