Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुरक्षाकर्मीको सहयोगमा काठमाडौंको फोहोर व्यवस्थापन

सुरक्षाकर्मीको सहयोगमा काठमाडौंको फोहोर व्यवस्थापन

  • 507
    SHARES
  • सुरक्षाकर्मीको सहयोगमा काठमाडौंको फोहोर व्यवस्थापन

    काठमाडौ । पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।

    स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य आजबाट सुरू गरिएको हो ।

    पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौंको १८ स्थानीय तहको फोहोर सडकमा थियो ।

    पटक-पटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीन पिप्लेसम्मको सडकखण्डमा उक्त संख्यामा सुरक्षाकर्मी खटाएको हो ।

    पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो ।

    फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ ।

    उनका अनुसार २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटक पटकको अवरोधका कारण फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ ।‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, राईले भने ।

    ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ दुई वर्षको लागि भन्दै विगत १५ वर्षदेखि फोहोर सिसडोलमा फोहोर व्यवस्थापन भइरहेकाले उक्त स्थान पनि पूर्णरूपमा भरिएको छ । ‘तत्काल त्यसको पनि विकल्प खोज्नुपर्छ’, राईले भने ।

    हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ ।

    हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर सिसडोल लैजाने गरिन्छ ।

    उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन ।

    नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij