वेबटिभी खबर
काठमाडौं । निजी क्षेत्रका व्यावसायीहरुले कोरोना संकटकाबीच आयोजनाहरुको काम नरोक्न सरकारमक्ष माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटका विषयमा अर्थमन्त्री विष्णु पौडेल र मन्त्रालयका सचिवलगायत पदाधिकारीसँगको बैठकमा निजी क्षेत्रका व्यावसायीले यस्तो माग गरेका हुन् ।
हाल विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएको र नेपालमा पनि यसको असर परेको भए पनि रोजगारी अभिवृद्धि गर्न र आर्थिक महत्व बोकेका आयोजनाको निर्माणका कामलाई निरन्तर दिन निजी क्षेत्रका व्यवासायीले माग गरेका हुन् ।
पहिले कहिल्यै नभोगको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक वर्ष पुरा भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन ।
‘गत आर्थिक वर्ष र चालु बर्षको पहिलो त्रैमासमा पनि अर्थतन्त्र ऋणात्मक रह्यो । नेपाल उद्योग बाणिज्य महासंघले तयार पारेको राष्टिय आर्थिक रुपान्तरण २०३० नेट २०३० ले चालु आर्थिक वर्षमा २.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोनाको दोस्रो लहरले अर्थतन्त्र पुरै ठप्प नभए यो वृद्धि सम्भव छ,’ गोल्छाले भने ।
आर्थिक वर्ष २०७८÷७९ मा अर्थतन्त्र पूर्णयता लयमा फर्किने आकलन छ । दुई वर्षको न्युन वृद्धिपछि आगामी आर्थिक वर्षमा १०.४ प्रतिशतको वृद्धि हुने प्रक्षेपण नेट २०३० को छ । जसले ठूलो रोजगारीको माग गर्ने गोल्छाले बताए ।
नेट २०३० ले आगामी १० वर्षमा २३ लाख थप रोजगारी हुने प्रक्षेपण गरेको छ । आगामी १० बर्षको विश्लेषण गर्दा सबैभन्दा धेरै सन् २०२२ र सन् २०२५ मा सबैभन्दा बढी वृद्धि र रोजगारीको माग हुने देखिन्छ । तर नेट २०३० को कार्यान्वयन तत्काल सुरु गर्नुपर्ने अध्यक्ष गोल्छाले बताए ।
गोल्छाले सीमित स्रोत भएको मुलुकका असीमित आवश्यकता पुरा गर्नुपर्ने चुनौती बजेटमा रहेको भन्दै यस पटकको बजेट मुख्यगरी महामारी नियन्त्रण, राहत र पुनरुत्थान, कृषि इकोसिस्टमको पुर्नसंरचना, प्रविधियुक्त सार्वजनिक सेवा र सुशासन, निजी क्षेत्रलाई प्रोत्सहान र पूर्वाधार विकास कार्यक्र ल्याउनुपर्ने बताएका छन् ।
कोरोनाबाट प्रभावित घरेलु, साना र लघु उद्योग, पर्यटन, मनोरञ्जन लगायतका व्यावसायमा सरकारद्वारा गतवर्ष घोषणा भएका बैंकिगलगायत सबै सहुलियत कम्तीमा दुईवर्ष थप्न सरकारसमक्ष व्यावसायीले माग गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij