वेबटिभी खबर
झापा । दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका उम्मेदवार रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका छन् भने, उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छिन् ।
निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन् । उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दा नेकपा एमालेकी अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरिन् ।
५८ हजार १७६ मतदाता रहेको नगरमा १८ हजार ७१६ पुरुष र २१ हजार १७९ महिला गरी ३९ हजार ८९५ जनाले मतदान गरेका थिए । वडाध्यक्षमा १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भएका छन् ।
त्यस्तै वडा नं ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन् ।
६ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा-कडा प्रतिष्पर्धा हुँदै आएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij