Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जनशक्ति अभाव हुँदा खेतीयोग्य जमिन बाँझिदै

जनशक्ति अभाव हुँदा खेतीयोग्य जमिन बाँझिदै

  • 483
    SHARES
  • जनशक्ति अभाव हुँदा खेतीयोग्य जमिन बाँझिदै

    म्याग्दी । स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिंदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएका छन् ।

    स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएपनि जिल्लाका युवा खाडीमुलुक जान बाध्य छन् । युवा विदेशीने र सहर पलायन हुने क्रम नरोकिंदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो ।

    बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा जमिन बाँझै छाडेका छन् । युवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।

    दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरेपनि सहज अवस्थामा गाउँ युवाविहीन हुने गरेका बेनी नगरपालिका-२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।

    गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् ।

    सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताए । रिजालले भने, ‘खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौं ।’

    यहाँका बासिन्दाले आफ्नै जग्गा जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ३ का जगबहादुर बूढाले भने ।

    अहिले यस स्थानमा भएका युवा खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उनले बताए । वर्षौंदेखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन् ।

    स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्य वृद्धि हुने गरेको व्यापारीको भनाइ छ । ‘खेतबारीमा बनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चामल र खाद्यान्न किनेर खाने गरेका छन्’, मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भने ।

    कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायतका ठाउँमा पनि जमिन बाँझै छ ।

    धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् । यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ ।

    कृषि कार्यालय र स्थानीय तहहरूले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैनन् ।

    पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij