वेबटिभी खबर
सर्लाही । भर्खरै सम्पन्न स्थानीय तह चुनावमा शक्तिशाली परिवारबाट पालिका प्रमुखमा दोहोरिन खोज्नेलाई मतदाताले औकात देखाइ दिएका छन् । परिवारबाट नै सांसद, प्रदेश सांसद र पालिका प्रमुखका पद लिन खोज्नेलाई यसपटक मतदाताले दोहोरिनबाट रोकेका हुन् ।
नेपाली राजनीतिका सफल खेलाडी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको गृहनगर सर्लाहीको चन्द्रनगर गाउँपालिकामा उनका दाजु महेन्द्र महतो पालिका अध्यक्षमा पराजित भए । २०७४ को चुनावमा महेन्द्रले पालिका अध्यक्ष जितेका थिए । त्यसपछि भएको प्रदेशसभाको चुनावमा उनका छोरा उपेन्द्र महतो पनि विजयी भए ।
उता राजेन्द्र महतो सर्लाही छाडेर धनुषाबाट संघीय सांसद चुनिए । परिवारका तीन जनाले शक्तिशाली पद पाए पनि जनताको पक्षमा काम नगरेको परिणाम स्थानीय चुनावमा देखिएको हो । उता संघीय सांसद एवम् नेकपा विभाजन अघि केपी ओली सरकारमा श्रममन्त्री रहेका रामेश्वर राय यादवको छोरा विक्रम पनि आफ्नै गाउँपालिका अध्यक्षमा दोहोरिन खोज्दा पराजित भए । पराजित मात्र भएनन्, प्रतिस्पर्धामा समेत आउन सकेनन् । उनी पनि तेस्रो स्थानमा खुम्चिए ।
ब्रम्हपरी गाउँपालिकामा पनि प्रदेश सांसद गौरीनारायण साह तेलीका छोरा विनोदले पराजय व्यहोर्नु पर्यो । अघिल्लो चुनावमा जितेका विनोदले यस पटक दोहोरिन खोज्दा हारेका हुन् ।
कांग्रेसका प्रदेश सांसदबाट राजिनामा दिएर गोडैता नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका उपेन्द्र कुशवाहले पनि चुनाव हारे । उनी अघिल्लो पटक पनि मेयरको चुनाव हारेपछि प्रदेश सांसदमा चुनाव लडेर जितेका थिए । नगर हाँक्ने लोभले सांसदबाट राजिनामा दिएर नगर प्रमुखको चुनावमा होमिएका कुशवाहलाई पनि मतदाताले हराइदिए ।
राजनीतिक विरासतको दम्भ र पैसाको भरमा चुनाव जितिन्छ भन्ने सोचलाई यसपटक मतदाताले उल्ट्याइदिएका छन् । दोहोरिएर चुनाव लडेकामध्ये गोडैता नगरपालिकामा देवेन्द्रकुमार यादव, बाग्मती नगरपालिकामा भरतकुमार थापा, धनकौल गाउँपालिकामा रामआश्रय साह भने यसपटक पनि दोहोरिएका छन् । सम्भावना बोकेका र युवा भनिएका उम्मेदवारले दोहोरिएर चुनाव लड्दा नराम्रो पराजय व्यहोर्नु पर्यो ।
सर्लाहीका नागरिक अगुवा शिवचन्द्र चौधरी एउटै परिवार र एकै व्यक्तिलाई सबै पद चाहिने प्रवृत्तिमाथि जनताले यस पटक प्रहार गरेको बताउँछन् । ‘सबै पद परिवारका सदस्यलाई नै चाहिने, त्यसमाथि परिवारै शक्तिमा भए पनि जनताको पक्षमा कुनै काम नगर्नुको परिणाम यो चुनावमा देखिएको हो,’ चौधरीले भने, ‘यो सुरुवात हो, अब प्रदेश र संघीय चुनावमा पनि जनताले यस्तो प्रवृत्तिलाई तह लगाउने देखिएको छ ।’
परिवार नै शक्तिमा भएकाहरू तुलनात्मक रूपमा धनी परिवारका भए पनि धन प्रतिको लोभ भने बढी देखिएको चौधरीले बताए । धनकै लोभका कारण जनताको पक्षमा कुनै काम हुन नसकेको उनको आरोप छ ।
‘आफू धन कमाउने र जनतालाई सधैं भ्रममा राख्न सकिन्छ भन्ने नेताहरूको सोचले देशको दुर्गती भएको हो,’ उनले भने, ‘अब जनता सचेत भइसकेका छन् । यो चुनावको सन्देश नेताहरूले बुझ्नुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij