काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ । अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले ८ हजार २९५ मतले अग्रता लिएकी छिन् । उनले प्रतिस्पर्धीसँगकाे मतान्तरलाई थप फराकिलाे बनाउँदै लगेकी छिन् ।
दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएका छन् । अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेकी छिन् ।
भरतपुर महानगरमा हाल वडानम्बर २१ र २२ को मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ १ लाख २७ हजार ८३९ मत खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology