वेबटिभी खबर
पोखरा । स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल १ लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म १ लाख २५ हजार ५२० मतको गणना सकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ४ हजार २९ मतको अग्रता बनाएका छन् ।
आचार्यले ५० हजार ६१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भएका छन् ।
महानगर प्रमुखमा राप्रपाका शंकर खरालले ५ हजार ३३७ मत प्राप्त गरेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको २ हजार ८६४ मत प्राप्त गरेका छन् । महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)की उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ ।
गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ । पोखरामा हालसम्म २५ वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij