वेबटिभी खबर
बाग्लुङ । अहिलेसम्म सम्पन्न स्थानीय तह निर्वाचनमा बाग्लुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो ।
कूल १ लाख ९३ हजार २२६ मतदातामध्ये ६३.६० प्रतिशत अर्थात् १ लाख २१ हजार ८६९ मत खसेकामा ८९.३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ ।
कूल खसेकामध्ये पूर्णरूपमा ०.८० प्रतिशत १ हजार ९ र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाग्लुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए । शर्माका अनुसार मतदाता संख्या १ लाख ९३ हजार भएपनि एक मतदाताले सात चिह्नमा मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताए ।
‘एक जना मतदाताले सात पटक सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जसमध्ये एक हजार ९ मतपत्र पूर्णरूपमै बदर भएको पाइयो’, शर्माले भने ।
उनका अनुसार ७ पदमध्ये केही पदमा मात्रै मत बदर भएको संख्या १३ हजार बढी रहेको छ । यसमध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबैभन्दा बढी मत गठबन्धका कारण बदर भएको मतगणनाका क्रममा पाइएको बताए ।
उनले एउटै मतपत्रको तलमाथि चिन्हमा मत लगाउँदा बढी बदर भएको पाइएको बताउँदै लस्कारै चिह्न लाउने मतदाताको मत कम संख्यामा बदर भएको जानकारी दिए । उनले पूर्णरूपमा मत बदर भएकोमा मतपत्र भन्दा बाहिर मतदान गरेको लगायतका समस्या देखिएको छ ।
मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक-फरक पार्टीका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ । १० स्थानीय तहमा ८५ वडा रहेको बाग्लुङमा निर्वाचित हुने ४४५ पदका लागि १ हजार १९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
बाग्लुङ जिल्लामा निर्वाचन पश्चात नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले एक पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख र ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन् ।
बाग्लुङका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहणपछि कार्यभार सम्हालीसकेका छन् । उनीहरूले पहिला बैठक बसेर केही लोकप्रिय निर्णयसमेत गरिसकेको जनाइएको छ । अहिले निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ गएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij