Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्विको बहसमा केन्द्रित गरौं : अध्यक्ष ओली

गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्विको बहसमा केन्द्रित गरौं : अध्यक्ष ओली

  • 354
    SHARES
  • गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्विको बहसमा केन्द्रित गरौं : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्वितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन् ।

    गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई आफूहरूले मुलुकमा गणतन्त्र स्थापना गरेर सुशासन र समृद्वितर्फको बहसमा केन्द्रीत गर्न सफल भएको बताएका हुन् ।

    उनले अघिल्लो सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्विको बहसतर्फ अग्रसर गराएको बताए ।

    ‘आजको यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्व श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रूपान्तरण गरेको थियो, मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहीत रहने ऐतिहासिक उपलब्धि हामीले हासिल गरेका थियौं’, उनले सन्देशमा भनेका छन् ।

    ‘यस ऐतिहासिक परिवर्तनपछि मुलुकले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको अभ्यास गरिरहेको छ ।’ अध्यक्ष ओलीले संविधानमा निहीत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरेर मुलुकमा नवनिर्माणको नयाँ युगको थालनी भएको बताए ।

    ‘जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सृदुढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो, यसले सिंगो राष्ट्रलाई समृद्व नेपाल र सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएको थियो’, उनले भने ।

    जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगलाई दुरूपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या तथा अपव्याख्याद्वारा प्रहार गर्ने कामसमेत भइरहेको उल्लेख गरे ।

    ‘संविधानमाथि प्रहार गर्दा मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍याएको छ’, उनले सन्देशमा भनेका छन्, ‘आज मुलुकको विकासमा सम्पूर्ण काममा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनको लिएको छ ।’

    अध्यक्ष ओलीले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्व नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्ने संकल्प बोकेको पार्टी रहेको भन्दै राष्ट्रको यस आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij