वेबटिभी खबर
महोत्तरी । महोत्तरीमा आत्महत्या गर्ने महिला र पुरुषको संख्या बढेको छ ।
पछिल्लो ३ महिना यतामात्र महोत्तरीमा आत्महत्या गरेर १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आत्महत्या गर्नेहरूमा ८ महिला र ८ जना पुरुष छन् । १८ जनामध्ये २ जना बालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आत्महत्याको क्रम बढेसँगै महोत्तरीमा यसको कारण खोजीको विषय बनेको छ । पहिलेको तुलनामा झन–झन आत्महत्या बढ्न थालेपछि यसको कारणबारे महोत्तरीमा समाजसास्त्रीहरूबीच बहस नै सुरु भएको छ । कतिपय समाजसास्त्रीहरूले आत्महत्यालाइ गरिवी, बेरोजगारसँग जोडेका छन् भने कतिपयले आतमहत्या दुरुत्साहनलाई व्याख्या गरेका छन् ।
आत्महत्या दुरुत्साहनको आरोपमा मात्र यो ३ महिनाको अवधीमा ४ वटा मुद्दा परेका छन् । केही वर्ष अघिसम्म महोत्तरीमा आत्महत्याको फरक स्वरुप थियो । ‘धेरैजसोले पारिवारिक झैझगडा, दाइजो नल्याएको आरोपमा आत्महत्या गर्न बाध्य बनाइने गरिन्थ्यो । त्यसमा पनि आत्महत्यामा महिलाहरू अधिक हुन्थे,’ गौशालाका रामपुकार बताउँछन् ।
तर आजभोलि महिला, पुरुष बराबरी संख्यामा आत्महत्या गर्ने गरेको पाइएको छ । यो ३ महिना अवधीको आत्महत्याको तथ्यांकलाई हेर्ने हो भने पनि बराबरी नै छ । कहिले महिला पुरुषबाट पीडित त कहिले पुरुष महिलाबाट पीडित हुनुपनि आत्महत्याको कारक बन्ने गरेको प्रहरीको भनाइ छ ।
आत्महत्यालाई न्यूनीकरण गर्न स्थानीय सरकारको भूमिकासमेत दरिलो हुनुपर्ने विज्ञहरू बताउँछन् । गरिबी कारणले पनि आत्महत्या बढीरहेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij