Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सबैभन्दा जेष्ठ पालिका अध्यक्ष भन्छन्– काम गर्नलाई उमेरले छेक्दैन (अन्तवार्ता)

सबैभन्दा जेष्ठ पालिका अध्यक्ष भन्छन्– काम गर्नलाई उमेरले छेक्दैन (अन्तवार्ता)

  • 787
    SHARES
  • सबैभन्दा जेष्ठ पालिका अध्यक्ष भन्छन्– काम गर्नलाई उमेरले छेक्दैन (अन्तवार्ता)

    काठमाडाैं । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित रामपदारथ साह तेली पालिका प्रमुखमध्ये सबैभन्दा बढी उमेरका हुन् । 

    images

    कांग्रेसबाट चुनाव जितेका साह ८० वर्ष पुगिसके । उनको पाँच वर्षे कार्यकाल पूरा हुँदा उनी पनि ८५ वर्षका हुन्छन् । निर्वाचन कार्यालय सर्लाहीले नेपालकै सबैभन्दा जेष्ठ पालिका अध्यक्ष बनेको भन्दै आफ्नो फेसबुक खातामार्फत बधाई नै दिएको छ ।

    उनले सोही गाउँपालिकाका निवर्तमान अध्यक्ष ४३ वर्षीय विनोदकुमार साहलाई पराजित गर्दै अध्यक्षमा चुनाव जितेका थिए । २०७४ सालको चुनावमा विनोदसँगै हारेका उनले यो पटक भने उनैलाई पराजित गरेका हुन् । 

    नेतृत्वमा युवालाई ल्याउनुपर्छ भन्ने माग देशभर चलिरहेको बेला लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका विनोदलाई पछि पार्दै ८० वर्षीय उम्मेदवारको जितले धेरैलाई आश्चर्यमा पारेको छ ।

    पालिका अध्यक्षमा जितेका रामपदारथ साह राजनीतिका निकै पुराना खेलाडी हुन् । उनी राजाको प्रत्यक्ष शासनका बेला सर्लाही जिल्ला विकास समितिको सभापतिमा पनि मनोनित भएका थिए । प्रजातन्त्र बहाली भएयता २०४७ सालदेखि राप्रपाको राजनीतिमा सक्रिय साह सुनिलबहादुर थापा कांग्रेसमा आएपछि सँगै आएका हुन् । 

    पाको उमेरमा चुनाव जितेका साहसँग पालिकालाई समृद्ध बनाउने योजना, उनको स्वास्थ्य अवस्था, विगतका राजनीतिक अनुभवलगायतका विषयमा वेबटिभी खबरले गरेको कुराकानीको सम्पादीत अंशः 

    देशभरकै पालिका प्रमुखमध्ये सबैभन्दा बढी उमेरको हुनुहुँदो रहेछ । ८० वर्षको उमेरमा पालिका प्रमुख हुँदा कस्तो महशुस गर्नुभएको छ ?
    विद्यार्थी जीवन सम्पन्न गरेपछि २०२८ सालबाट म राजनीतिमा सक्रिय रूपमा लागेको व्यक्ति हुँ । मेरो बुवाले पनि करिब ४० वर्ष समाजको अगुवा भएर काम गरेकाले मलाई राजनीतिमा लाग्न प्रेरित गरेको हो । म पनि सोही लय समातेर करिब ३८ वर्षदेखि निरन्तर समाज र जनताकोबीचमा बसेर दुखःसुख साटिरहेको छु । अहिलेको अवस्था त्यसैको परिणाम हो जस्तो लाग्छ ।

    गत २०७४ सालको स्थानीय निर्वाचन पनि मैले राप्रपाबाट लडेको थिएँ । त्यतिबेला जित हासिल गर्न नसके पनि सम्मानित मत ल्याएर दोस्रो भएको थिएँ ।

    निर्वाचित हुँदा कुनै सुख सुविधाको अनुभव गरेको छैन । गाउँपालिका र पालिकाभित्रका जनताका जीवनस्तरलाई कसरी माथि उकास्ने, उनीहरूलाई कसरी सहजता प्रदान गर्ने लगायत कुराको जिम्मेवारी बोध भएको महशुस गरेको छु ।

    सिँचाई, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । सोहीअनुसार काम पनि गर्छु ।
    यो उमेरमा पनि के गर्छु र के गर्न सक्छु भनेर देखाउन पनि सक्छु । यो उमेरमा पनि मेरो काम गर्ने इच्छाशक्तिलाई देखेर नै यहाँका जनताले मलाई निर्वाचित गरेका हुन भन्ने लाग्छ ।

    युवालाई अवसर दिनुपर्छ भन्ने दबाब बढेका बेला तपाईले यो उमेरमा पार्टीबाट कसरी टिकट पाउनु भयो ?
    मेरो राजनीतिक यात्रा, लगनशीलता र जनताले मप्रति देखाएको सद्भावकै कारण मैले चुनावमा टिकट पाएको हुँ जस्तो लाग्छ । जनताको विश्वास जित्न सकेकाले पनि मलाई पार्टीले टिक दिएको हुनुपर्छ ।

    मेरो क्रियाकलाप हेरेर यो व्यक्तिले चुनाव जित्न सक्छ भन्ने विश्वास गरेर पार्टीको शीर्ष नेतृत्वमा रहेका नेताहरूले पत्याएकाले पनि मैले टिकट पाएको हुँ ।

    प्रतिस्पर्धामा रहेका आफूभन्दा झण्डै आधा उमेरका उम्मेदवारलाई सहजै पछि पारेर चुनाव जित्नु भो । मतदाताले तपाईंलाई पत्याउने वातावरण कसरी बन्यो ?
    मेरो प्रतिस्पर्धी मभन्दा अघि मलाई नै हराएर गाउँपालिका अध्यक्ष चुनिनु भएको थियो । उहाँको कार्यकालमा भएका गल्ती र कमीकमजोरीविरुद्ध मैले प्रजातान्त्रिक र व्यस्थित ढंगले विरोध गरेको थिए । धेरै ठाउँमा तालाबन्दी भयो, घेराबन्दी हुने गरे पनि मैले त्यस्तो केही गरिनँ ।

    मैले पहिलेदेखि नै गाउँपालिकाले गरेका कमी कमजोरीविरुद्ध निरन्तर आवाज उठाउँदै आएको थिएँ । पालिकाले गरेका कामहरू जनता समक्ष प्रष्ट रूपमा राख्नुपर्छ भन्ने कुरा उठाउँदै आएको छु ।

    लामो समयदेखि जनताको बीचमा बसेर काम गरेको, उनीहरुको सुख दुःखमा साथ दिएको व्यक्ति भएकाले पनि मलाई उहाँहरूले विश्वास गर्नुभएको हो भन्ने लाग्छ ।

    यसअघिको निर्वाचमा मैले राप्रपाबाट पालिका अध्यक्षमा चुनाव लडेको थिएँ । राप्रपाको नामोनिसा नहुँदा पनि मैले आफ्नै बलबुतामा दुई हजारबढी मत ल्याएर दोस्रो स्थान हासिल गरेको थिएँ । यो पटक मलाई नै हराउने निवर्तमान अध्यक्षलाई जो लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार ह्नुहुन्थ्यो, उहाँलाई करिब १३ सय मतान्तरले पराजित गरें । जनताको पक्षमा निरन्तर र लगनशिल भएर मैले गडरेको काम नै मेरो चुनाव जित्ने प्रमुख आधार बन्यो ।

    आराम गर्ने उमेरमा दौडधुप गर्नुपर्ने भूमिकामा पुग्दा असहज त हुँदैन ?
    भगवानको कृपाले अहिलेसम्म ठिक छु । उमेर बढी हुँदा केही थकाई त महशुस हुन्छ । तर काम गर्ने इच्छाशक्तिले थकाईलाई बिर्साएर मलाई काम गर्ने उर्जा प्रदान गर्छ । पशुपतिनाथ र जानकी माताको कृपाले अहिलेसम्म काम गर्न मलाई उमेरले छेकेको छैन ।

    अबको पाँच वर्षसम्म काम गर्नुपर्ने हुन्छ । सक्नुहुन्छ ?
    किन नसक्नु ? काम गर्छु नै भनेर जानताबाट निर्वाचित भएर आएपछि सक्दिनँ भन्ने छुट छैन ।

    मैले अबको पाँच वर्ष जसरी पनि काम गर्नुपर्छ र गर्छु । तपाईले नै पाँचवर्षपछि के छ तपाईको खबर (अवस्था) भनेर सोध्नुहुन्छ भन्ने विश्वास छ ।

    प्रचारप्रसारको बेला पाको उम्मेदवार भनेर विपक्षीहरूले प्रचार गरे होला नि ? 
    त्यस्तो नहुने त कुरै हुँदैन । प्रतिस्पर्धीले आफूले चुनाव जित्न त्यस्तो प्रचार गर्नु स्वाभाविक पनि हो । उनीहरूले जति प्रयास गरे पनि जनताले पत्याएनन् । मलाई नै भोट दिएर निर्वाचित गराए ।

    पालिका प्रमुख भएपछि शारिरिक रूपमा पनि सक्रिय रहनुपर्ने हुन्छ । स्वस्थ हुनुहुन्छ नि ?
    अहिले म स्वस्थ नै छु । अहिलेका युवाहरू त औषधिको भरमा चलिरहेका छन् । मैले कुनै औषधि सेवन गर्दिन भनेर झुट बोल्न त मिल्दैन । म केही वर्षदेखि सुगर र ब्लड प्रेसरको को विरामी छु । मैले त्यसको औषधि पनि सेवन गरिरहेको छु । यसैबीचमा मेरो मुटुको पनि अप्रेसन भएको छ ।

    तर मेरो दैनिक जिवन प्राय एकै प्रकारको जस्तो हुन्छ । म विहानै उठ्ने, व्यायम गर्ने योग गर्नेलगायतका क्रियाकलाप गरेपछि मात्र म घर बाहिर निस्किन्छु । यो मेरो नियमित क्रियाकलाप हो । यसले पनि मलाई स्वस्थ रहन मद्दत गरेको छ । त्यस्तै म माछा, मासुजन्य कुरा खाँदिन । साकाहारी खाना मात्र खान्छु । यसले पनि मलाई स्वस्थ बनाएको छ जस्तो लाग्छ । 

    तपाईंको कार्यकालमा ब्रम्हपुरी गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
    मैले अघि पनि भनेको छु । म कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्ने योजनामा छु । कृषिमा मानिसहरूलाई आकर्षित गर्न सकियो भने बेरोजगार मानिसहरूले रोजगारी पनि पाउँछन् ।

    आफ्नै क्षेत्रमा उत्पादन भयो भने मूल्यवृद्धि नियन्त्रण हुनुकासाथै किसानको आर्थिकस्तर पनि वृद्धि हुन्छ । अबको पाँच वर्ष जनताको इच्छा आकांक्षालाई ध्यानमा राखेर काम गर्छृु ।

    पछिल्ला केही तथ्यांक र प्रतिवेदनहरूले पनि सबै भन्दा धेरै भ्रष्टाचार स्थानीय तहहरुमा भएको देखाएको छन् ।

    मेरो पालिकामा त्यस्ता खालका गतिविधि रोक्ने काम गर्छु र पालिकावासीलाई परिवर्नतको महशुस गराउँछु । स्थानीय सरकार कसरी चल्छ भनेरलाई स्पष्ट रुपमा देखाउँछु ।

    पालिका प्रमुखमा देशभरकै जेष्ठ ८० वर्षीय रामपदारथ पालिका प्रमुखमा देशभरकै जेष्ठ ८० वर्षीय रामपदारथ

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology