Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भैंसीपालनबाट लाखैको आम्दानी

भैंसीपालनबाट लाखैको आम्दानी

  • 556
    SHARES
  • भैंसीपालनबाट लाखैको आम्दानी

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ७ कुरिलाखर्कका ३८ वर्षीय सुरेश ढुंगाना १० वर्ष अरबको खाडीमा पसिना बगाएर घर फर्केका छन् । ढुंगानाले परिश्रम गर्नसके गाँउघरमा बसेर कमाउन सकिन्छ भन्ने सन्देश दिन सफल भएका छन् ।

    आजभन्दा ९ वर्ष पहिले कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुंगानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंंसी र दुई जर्सी गाई दुहुना छन् । ती भैंसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुंगानाले बताए ।

    दुई भैंसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुंगानाले मासिक ४ लाख आम्दानी गर्ने गरेका छन् । सबै खर्च कटाएर मासिक करिब २ लाखको हाराहारीमा बचत हुने उनको भनाइ छ ।

    फार्ममा अहिलेसम्म ५० लाख लगानी भइसकेको उनले बताए । उनले भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका छन् । ‘बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंंसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्‍याउन जान्छु ।’ उनले भने ।

    सदरमुकाम बेनीबजारको डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्‍याउने गरेका छन् । प्रतिलिटर ९० रूपियाँमा दूध बिक्री हुने गरेको उनले जानकारी दिए । पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुंगानाले सुनाए ।

    उनले ५ रोपनी जग्गामा फार्म बनाएका छन् । उनको फर्मबाट २ जनाले रोजगार पाएका छन् । भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैं खटिने ढुंगानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउछन् ।

    ढुंगानाले भैंसीपालन कुखुरापालन पनि सुरु गरेका छन् । अहिले उनको फर्ममा २ हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट मासिक ८ लाख आम्दानी गर्ने गरेको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij