वेबटिभी खबर
काठमाडौं । देशका विभिन्न ९ वटा स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ ।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संघठनकारूपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिन सक्ने जनाएको हो ।
आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरूद्व हुनसक्ने जनाएको हो ।
‘इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तररूपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरूद्व हुनसक्छ’, आइस्पानले जनाएको छ ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत् कटौती गर्न थालेको छ । बक्यौता रकम भुक्तानीका लागि पटक/पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत् कटौती गर्न थालेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij