Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रेष्टुराँ र शो-रुममा निःशुल्क शौचालय

रेष्टुराँ र शो-रुममा निःशुल्क शौचालय

  • 435
    SHARES
  • रेष्टुराँ र शो-रुममा निःशुल्क शौचालय

    बाग्लुङ । बाग्लुङ बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि यहाँका रेष्टुराँ र शो-रुमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ ।

    होन्डा नेपालको शो-रुमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरु गरेको केही दिनमै सदरमुकामस्थित वल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो ।

    क्याफेको अघि सडक छेउ निःशुल्क शौचालय सेवा लेखेर सांकेतिक पाटी सेवा सुरु गरिएको क्याफे व्यवस्थापनले जनाएको छ । क्याफेका सञ्चालक सञ्जय खड्काले बजारमा हिँड्डुल गर्ने जो कोहीले पनि क्याफेमा रहेको शौचालय प्रयोग गर्न सक्ने बताए ।

    ‘हुन त पहिले पनि बाहिरी मान्छे आउँदा शौचालयमा त्यस्तो रोकतोक थिएन, अहिले सबैलाई सहज होस् भनेर बोर्ड नै राखेर जानकारी दिएका हौं,’ उनले भने, ‘हामीले सुरु गरिसकेपछि बजारका अरू पनि प्रेरित होलान् कि भन्ने लागेको छ ।’

    सञ्चालक खड्काले बजारमा ओहोरदोहोर गर्ने सर्वसाधारणले सार्वजनिक शौचालय नहुँदा समस्या झेलिरहेकाले आफूले निःशुल्क शौचालय प्रयोग गर्न दिने सोचमा पुगेको बताए । उनले सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद रहेको जानकारी दिए ।

    होन्डाको शो-रुम सञ्चालन गरिरहेको यादव ब्रदर्सले बाग्लुङ नगरपालिका-२ पुरानो बसर्पाकमा यसअघि नै सार्वजनिक शौचालय सेवा सुरु गरिसकेको थियो ।

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले होटल, रेष्टुराँलगायत व्यावसायिकस्थलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने घोषणा गरेसँगै होन्डा नेपालले देशभरका शो-रुमहरूमा निःशुल्क शौचालय सेवा दिने घोषणा गरेको थियो।

    कम्पनीले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै निःशुल्क शौचालय सेवा सुरु गरेको हो । यहाँको यादव ब्रदर्सले भने ‘जिम्मेवार नेपाली म’ भन्ने आदर्श वाक्यसहित आफ्नो शो-रुमको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको छ ।

    बिस्तारै निजी क्षेत्रका अरू व्यावसायिक संघसंस्थाले पनि सार्वजनिक शौचालयको अवधारणमा सघाउने विश्वास लिइएको छ । बढ्दो आवादी र तीव्र बजारीकरणका बीच यहाँ सार्वजनिक शौचालयको अभाव भएको हो ।

    बाग्लुङ नगरपालिकाले सदरमुकामको समीक्षालयरोडमा केही वर्षअघि बनाएको सार्वजनिक शौचालय प्रयोगमा नआई जीर्ण बनेको छ । सार्वजनिक शौचालय नहुँदा सबैभन्दा बढी गाउँबाट झर्ने सर्वसाधारणलाई सास्ती रहेकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij