वेबटिभी खबर
सिन्धुपाल्चोक । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने उदेश्यले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ ।
कफी उत्पादनको पकेट क्षेत्रकाेरूपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानी ट्यांकी, ५० थान ब्याट्री स्पेयर तथा १८० थान कैंची तथा करौती वितरण गरेको छ ।
सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए ।
सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले पालिकाले अबको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा दिने बताए । उनले गाउँपालिकाको भू-भागमा कफीको लागि निकै उत्कृष्ट हावा पानी रहेको जनाउँदै कफीको उत्पादन बढाउने आफूहरूको योजना रहनेसमेत प्रतिबद्धता जनाएका छन् ।
जिल्लाको सुनकोसी गाउँपालिका कफी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको स्थानीय तह हो । यस पालिकाको कफी प्रशोधन र ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीकोरूपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अष्ट्रेलिया निर्यात हुने गरेको छ ।
सुनकोसी गाउँपालिकामा मात्रै ३०० रोपनी जग्गामा कफी खेती गरेर ४५० परिवार यसमै आश्रित भई आम्दानी गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij