Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

खुलामञ्चको बसपार्क बन्द 

खुलामञ्चको बसपार्क बन्द 

  • 1.1K
    SHARES
  • खुलामञ्चको बसपार्क बन्द 

    काठमाडौं । काठमाडौंस्थित खुलामञ्चबाट सञ्चालन हुँदै आएको पुरानो बसपार्क बन्द गरिएको छ । 

    खुलामञ्च ओगटेर जलेश्वर स्वच्छन्द्ध बिकोइ बिल्डर्सले सञ्चालन गर्दै आएको उक्त बसपार्कलाई काठमाडौं महानगरपालिकाले बुधबार साँझदेखि हटाएको हो । 

    नगर प्रहरीले बुधबार साँझदेखि नै सो बसपार्कमा सवारी प्रवेशमा रोक लगाएको हो । 

    वीरअस्पतालतर्फको प्रवेशद्वारमा फलामे ढोका लगाएर र विद्युत प्राधिकरणतर्फको ढोकामा ताला लगाएर बसपार्कलाई बन्द गराइएको नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले बताए । 

    उक्त कम्पनीले पुरानो बसपार्क क्षेत्रमा भ्युटावर निर्माण गर्ने भएकाले त्यहाँ रहेको पुरानो बसपार्कलाई खुलामञ्चमा स्थानान्तरण गरिएको थियो । 

    भ्युटावरको अन्डर ग्राउण्ड तला बनेसम्मका लागि ०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुल्ला मञ्चमा ल्याइएको थियो । तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुलामञ्चलाई खुला राख्न महानगरले बसपार्क हटाएको सापकोटाले जानकारी दिए । 

    खुलामञ्चबाट बसपार्क हटाउने विषयमा वैशाख ९ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरपालिकाका प्रतिनिधिबीच बैठक बसेको थियो । सोही बैठकको निर्णयअनुसार बुधबारदेखि खुलामञ्चबाट बसपार्क हटाइएको हो ।  

    सापकोटाकाअनुसार उक्त बसपार्कबाट विभिन्न ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । जसमध्ये २७ वटा कम्पनी छोटो दुरीमा र करिब १३ वटा कम्पनी मध्यमदुरीमा सञ्चालित थिए । 

    आगामी दिनमा मध्यम दुरीका सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गराइने र छोटो दुरीका सवारी साधनलाई पिक एण्ड ड्रप प्रणालीबाट सञ्चालन गराउने बैठकको निर्णय छ ।

    यद्यपि, बिहीबारदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी भएकाले बसपार्क क्षेत्रमा सवारी साधनको उपस्थिति छैन ।

  • सम्बन्धित विषय:

  • # बसपार्क

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij