वेबटिभी खबर
काठमाडौं । स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका-८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् ।
पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए ।
जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा संकलन कार्यसमेत ठप्प भएको छ । दैनिक करिब १२ लाखभन्दा बढीको घाटा भइरहेको उद्योगका प्रबन्धक टुरदेव अधिकारीले जानकारी र्दि । उनले भने, ‘दाना खुवाउन नसक्दा धमाधम कुखुरा मर्न थालेका छन् ।’
तीन दिनमा करिब एक हजारभन्दा बढी कुखुरा मरेको उनले बताए । पोल्ट्रीमा एक लाख २५ हजार कुखुरा रहेका थिए । दाना खुवाउन नसक्दा कुखुरा मर्न थाले पनि टुलुटुलु हेर्नुबाहेक केही गर्न सक्ने अवस्था नरहेको अधिकारीले बताउँछन् ।
२०५७ सालमा स्थापना भएको सो पोल्ट्रीमा यसअघि दैनिक करिब ८० हजार अण्डा उत्पादन हुँदै आएको थियो । अधिकारीले भने, ‘तालाबन्दी भएकाले अहिले अण्डा उत्पादन १०-१५ हजारमा झरेको छ ।’
अहिले उत्पादन भइरहेको अण्डा संकलन र बजार पठाउने काम ठप्प छ । फोहरमैला व्यवस्थापन गर्न प्रयास जारी रहेपनि स्थानीयवासीले पोल्ट्री नै अन्यत्र सार्न माग गरेको अधिकारी बताउँछन् ।
बस्तीमा दुर्गन्ध फैलिएकाले तालाबन्दी गरिएको स्थानीय श्रवण चौधरीले बताए । उनले भने, ‘फोहरमैलाका कारण दुर्गन्ध फैलिएको छ । हामी नाक थुनेर बस्नुपर्ने अवस्था छ ।’
खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले दुवै पक्षलाई बोलाएर छलफल गरि समस्या समाधानका लागि पहल भइरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij