Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एउटै शेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने पक्राउ

एउटै शेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने पक्राउ

  • 344
    SHARES
  • एउटै शेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने पक्राउ

    काठमाडौं । एउटा शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका-८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

    पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका-३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् ।

    आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।

    व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाईसमेत बेचेको खुलेको प्रहरीले बताएको छ ।

    सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेका अवस्थामा पटक-पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।

    सो कम्पनीको सेयर किनेका पाण्डे भने कन्सल्टेन्सीको उक्त सेयर यसअघि बिक्री भइसकेको बारे आफूलाई जानकारी नभएको दाबी गर्छन् ।

    हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

    उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्यादसमेत थपिएको छ ।

    यसअघि पटकपटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङ बताउँछन् ।

    अधिकारीलाई सरकारी जग्गा बैना गरि ५ करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्बिरसहित घटना विवरण सार्वजनिक गरेको थियो ।

    उक्त दुई घटना सार्वजनिक भएसँगै हाल उनीबारे अन्य घटनासमेत सार्वजनिक हुने क्रम बढेको छ । यसअघि उनी संलग्न रहेको अर्बिट एसोसिएटलेसमेत ललितपुर फाइनान्सको ३५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij