वेबटिभी खबर
सर्लाही । सर्लाहीको जिल्ला समन्वय समिति संयोजकमा चुनिएका कौशल किशोर सिंह कांग्रेसमा विरलै भाग्यमानी मध्येमा पर्छन ।
पार्टीले निरन्तर लाभको पदका लागि उनलाई गरिएको समर्थनका कारण उनी भाग्यमानी मानिएका हुन् । एक महिनाको अवधिमा उनलाई तीनवटा विभिन्न पदका लागि पार्टीले सिफारिस गर्यो ।
एउटामा असफल हुने वित्तिकै अर्काे पदमा उनलाई पार्टीले अघि सार्दै अन्ततः जिसस प्रमुख बनाइ छाड्यो । सिंह ३० वैशाखमा भएको चुनावमा कांग्रेसबाट बलरा नगरपालिकाको मेयरमा खडा भएका थिए । तेस्रो स्थानमा परेर चुनाव हारेपछि लगत्तै भएको कार्यपालिका चुनावमा उनलाई अल्पसंख्यकबाट टिकट दिएर जिताइयो ।
एक महिनाअघि मेयरमा पराजित सिंह समन्वय समितको संयोजकमा शुक्रबार चुनिए । उनी पार्टीबाट लगातार लाभ पाउने भाग्यमानी ठहरिएका छन् । ४० जना मतदाता भएको समन्वय समितिमा कांग्रेसको मात्र २३ सिट थियो । स्पष्ट बहुमत भए पनि सिंहको जित सुनिश्चित गर्न कांग्रेसले माओवादीसँग गठबन्धन गरेर उपसंयोजक माओवादीलाई दियो ।
जिल्ला नेतृत्वले एउटै व्यक्तिलाई निरन्तर टिकट दिएर माथि ल्याउँदा पार्टीबाटै विद्रोहको खतरा देखेपछि कांग्रेस नेतृत्वले माओवादीसँग गठबन्धन गरेको हो । पहिले मेयर, त्यसमा हारेपछि कार्यापालिका सदस्य र तिनै व्यक्तिलाई जिससमा ल्याउन खोजेपछि पार्टीमा असन्तुष्टि बढेको थियो ।
पार्टीभित्र अरुलाई पनि अवसर दिनुपर्ने आवाज जोडदार रुपमा उठे पनि जिल्ला नेतृत्वले त्यसलाई अस्वीकार गर्दै सिंहलाई उम्मेदवार बनाएको हो । जिसस प्रमुख बनेका सिंह सर्लाहीको संघीय निर्वाचन क्षेत्र ४ का हुन् । कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, मधेस प्रदेशका उपसभापति वीरेन्द्र प्रसाद सिंह पनि सोही निर्वाचन क्षेत्रका हुन् । स्थानीय चुनावमा निर्वाचन क्षेत्र १ र २ का सबै पालिका कांग्रेसले जिते पनि ४ मा अघिल्लो पटकभन्दा कमजोर रह्यो । तै पनि सबै सुविधा क्षेत्र ४ मा लैजाने प्रयास भएकोमा कांग्रेसका आम कार्यकर्ताले आपत्ति जनाएका छन् ।
सिंहलाई टिकट दिलाउन कांग्रेसकाे जिल्ला नेतृत्वले माओवादी नेताहरूसँग पनि भेटघाट गरेर पार्टी सभापति शेरबहादुर देउवासम्म सिफारिस पुर्याएका थिए । माओवादीका नेताले पनि सिफारिस गरेपछि सिंहकाे टिकट पक्का गराएर कांग्रेस सभापतिलगायतका नेताहरु जिल्ला फर्किएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij