वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा बंगुरपालकको संख्या बढेसँगै बजारको अभाव देखापरेको छ । बजार अभाव भएपछि बंगुरपालकले सस्तो मूल्यमै बंगुर र पाठा बिक्री गर्न बाध्य भएका हुन् ।
केही दिनअघि मात्रै ४ हजारमा बिक्री हुने बंगुरका पाठाको मूल्य घटेर अहिले घटेर २ हजारमा पुगेको व्यवसायीहरू बताउछन् । बंगुरको मासु २८० प्रतिकिलोका हिसाबले बिक्री हुँदै अएकोमा अहिले घटेर २ सय रूपैयाँमा पुगेको छ ।
‘पहिले बंगुर र पाठा खरिदका लागि व्यापारी घरसम्मै आउँथे,’ एक दशकदेखि बंगुरपालनको कार्यमा लागेका शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका किसान तेजबहादुर चौधरीले भने, ‘यस वर्षको अहिलेसम्म बंगुर खरिदका लागि व्यापारी पुगेका छैनन् । बजार खोज्दै हिँड्नु परेको छ ।’
चौधरीको फार्ममा पाठा र माउ गरी ५० बढी बंगुर रहेका छन् । बंगुर बेचेर उनले वार्षिकरूपमा ३ लाख बढी आम्दानी गर्दै आएका छन् । यहाँका किसानले ड्युरेक, पाख्रिवास, लेन्ड्रेसलगायत उन्नत जातका बंगुरपाल्दै आएका छन् ।
‘दुई वर्ष कोरोना संक्रमणका कारण बंगुरपालन व्यवसाय प्रभावित बन्यो’, चौधरीले भने, ‘कोरोनाको संक्रमण कम भएसँगै व्यवसाय अगाडि बढ्नेमा आशावादी थियौं ।’
बंगुरपालन व्यवसायमा संलग्न किसान रुपा चौधरीले बंगुरपालन गर्ने धेरै र बजार साँघुरो भएपछि निकै समस्या भएको बताइन् । उनले यहाँ पालिएका बंगुर कैलाली, बझाङ, अछामसम्म पुग्ने गरेको जानकारी दिइन् ।
चौधरीले भनिन्, ‘हाल बंगुरको माग घटेपछि लागत खर्च उठाउनसमेत हम्मे हम्मे छ ।’ बंगुरलाई खुवाउने चारो, औषधि लगायतमा धेरै खर्च हुने गरेको उनको भनाइ रहेको छ ।
बजारमा बंगुरको माग थोरै र प्रतिस्पर्धा धेरै रहेको छ । त्यसै कारणले वर्षौंदेखि बंगुररपालन गर्दै आएका व्यापारीले व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको दीपक चौधरीले बताए ।
बंगुरको बजार प्रवर्द्धनका लागि स्थानीय तह र सम्बद्ध सरकारी निकायले सहयोग गर्नुपर्ने बंगुरपालकहरूको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij