वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छरेकाे पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएको बताए ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार आयोजना गरेको वि.सं १९९७ असार ९ गते राणा शासनविरूद्ध छरिएको पहिलो पर्चा र वि.सं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छर्नुभएको पर्चाको योगदान महत्त्वपूर्ण रहेको छ ।’ आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए ।
उनले टंकप्रसाद आचार्यको विचार र संगठनले वि.सं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । उनले भने, ‘टंकप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उनले परिकल्पना गरेको मुलुक बन्दथ्यो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिस्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए । उनले भने, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’
उनले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताए । उनले भने, ‘प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन् ।’
प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए । टंकप्रसाद आचार्यले राणा शासनको विरोधमा वि.सं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए ।
सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा.महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्याएको योगदानस्वरूप सम्मान गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij