Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

  • 357
    SHARES
  • पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

    नेपालगञ्ज । बाँकेको पसरपुर-गौघाट सडकमा पर्ने किरण खोलाको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती बेहोर्नुपर्ने भएको छ ।

    दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको ५ करोड ८५ लाख ७२ हजार ५३३ बजेटमा २०७९ असार २५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी गल्वा-सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो ।

    सम्झौता अवधि सकिन केही दिन बाँकी रहँदासम्म उक्त पुलको पूरै पिलरसमेत निर्माण भएको छैन । वर्षात्का समयमा पुल नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको खजुरा गाउँपालिका-२ निवासी स्थानीय अगुवा गेहेन्द्र धितालले बताए ।

    किरण खोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उनले जानकारी दिए ।

    निर्माण गर्ने समयावधि सकिनै लाग्दासमेत निर्माण कम्पनीले पुल निर्माणको काम अगाडि बढाएको छैन । निर्माण सम्पन्न गर्ने समय सकिनै लाग्दा पनि निर्माण कार्य थालनी नगर्नु निर्माण कम्पनीको लापर्वाही भएको धितालको भनाइ छ ।

    पुल निर्माण नहुँदा यो वर्षात्मा पनि आवागमनमा कठिनाइ हुने भएको खजुरा गाउँपालिकाका प्रवक्ता एवम् वडा नं-२ का वडाध्यक्ष धनीराम ओलीले बताए । निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउन निर्माण व्यवसायी कम्पनीलाई पटक-पटक आग्रह गरे पनि कार्य प्रगति नदेखिएको ओलीले उल्लेख गरे ।

    उनका अनुसार, केही महिनाअघिसम्म समयमै काम सम्पन्न गर्ने बताउँदै आए पनि पछिल्लो पटक निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन रहेका छन् । निर्माण स्थलमा खटिएका मजदुरले पारिश्रमिक पाउन सकेका छैनन् ।

    आवागमनको वैकल्पिक व्यवस्था नरहेकाले पुल निर्माण नहुँदासम्म वर्षात्मा खजुराको सीतापुर र राधापुर क्षेत्रका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । हाल किरण खोलामा सर्वसाधारणले काम चलाउ काठको पुल बनाएर जोखिमपूर्णरूपमा आवागमन गर्ने गरेका छन् ।

    पुल निर्माण नहुँदा वर्षात्मा सवारीसाधन आवागमन ठप्प हुने गरेको छ । सदरमुकाम नेपालगञ्ज आउन सर्वसाधारणले बनाएको काठको काम चलाउ पुल खोलामा आउने बाढीले बेलाबेलामा बगाउँदा आवतजावत पूर्णरूपमा ठप्प हुने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij