वेबटिभी खबर
बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि उनीहरूको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ ।
२०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको हो । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकोमा हाल उक्त कारागारमा ७७६ कैदीबन्दी रहेका छन् ।
कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए । बस्तीको मध्येभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ ।
‘कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ’, उनले भने । उनीहरूलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् ।
कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित हुनुका साथै कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने र ढल निकासको व्यवस्था नहुँदा अधिक संख्यामा कैदीबन्दी बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।
फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग संक्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij