Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाँके र बर्दियामा मानव-वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बाँके र बर्दियामा मानव-वन्यजन्तुबीच द्वन्द्व बढ्दै

  • 415
    SHARES
  • बाँके र बर्दियामा मानव-वन्यजन्तुबीच द्वन्द्व बढ्दै

    काठमाडौं । गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका-२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरि घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे ।

    सो आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका-२ बस्ने १८ वर्षीया नवीना थारूको मुत्यु भयो भने मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भए ।

    त्यसको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका-२ की कौसिला पालको मृत्यु भएको थियो ।

    वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदाय सडक आन्दोलनमा उत्रिने क्रममा गोली चल्दा अनाहकमा सर्वसाधारणको ज्यान गएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरूङले बताए ।

    पछिल्ला वर्षमा पश्चिम तराईको बाँके र बर्दिया जिल्लामा मानव-वन्यजन्तुबीच द्वन्द्व बढेको छ । गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा ६ गरि २९ जनाको मृत्यु भएको छ ।

    दुवै निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

    उनका अनुसार पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ । 

    बर्दियामा चालु आर्थिक वर्ष २०७८/०७९ मा पाँच जना, ०७७/०७८ मा सबैभन्दा बढी १२ जना र ०७६/०७७ मा छ जना गरेर २३ जनाको ज्यान गएको छ ।

    उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर दुवैको सहअस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलोपटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरू गरिसकेको बताए ।

    बर्दियाको मधुवन नगरपालिका क्षेत्रका स्थानीयले खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष गुरूङको भनाइ छ ।

    पछिल्ला केही वर्षदेखि बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न छ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ ।

    बाँकेमा गत पाँच वर्षमा बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिए ।

    उनका अनुसार चालु आवमा बाघको आक्रमण सबैभन्दा बढी भएको छ । वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij