वेबटिभी खबर
चितवन । नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) बीच सम्झौता भएको छ ।
नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरूलाई अस्पतालमा २५ प्रतिशत छुट दिनेसम्बन्धमा सम्झौता गरिएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्राडा.दयाराम लम्साल र संघका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवाहरूमा २५ प्रतिशत र औषधिमा ७ प्रतिशत छुट दिने उल्लेख छ ।
सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरूका परिवार र अमर प्रहरीका परिवारलाई संघले उपलब्ध गराएको परिचयपत्रका आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा उपलब्ध गराइने भएको छ ।
सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्दा हुने उपचारमा भने यो सम्झौता लागू हुनेछैन । नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरूलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताए ।
अस्पतालमा बहिरंग (ओपीडी) र आकस्मिक (इमर्जेन्सी)को टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने उनले जानकारी दिए । संघका अध्यक्ष सिंहले संघले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताइन् ।
उनले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने उनको भनाइ छ । संघले नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको अध्यक्ष सिंहले बताइन् ।
नेपालका जुनसुकै ठाउँमा रहेर पनि संघले उपलब्ध गराएको परिचयपत्रसहित उपचारका लागि आएमा यो सुविधा उपयोग गर्न पाइने भएको छ । यो सम्झौता आउँदो साउन १ देखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ ।
प्रमुख प्रशासक देवकोटाले नेपालको मध्येभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवाहरू दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताए । आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने प्रतिबद्धता उनले जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij