वेबटिभी खबर
डोटी । वर्षात सुरु भएका कारण जिल्लाका ९ वटै स्थानीय तहमा सडक पुर्याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिरोको जोखिम बढ्न थालेको छ । केही दिनदेखि भइरहेको वर्षाले यहाँका गाउँघरका अधिकांश सडक बन्द हुन थालेका हुन् ।
डोजर अपरेटरका भरमा जथाभावी सडकको ट्रयाक खन्दा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ छ । निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्याउने नेताले गरेका वाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ ।
गाउँ-गाउँमा सडक पुर्याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका-४ का सर्वजित देउवाले बताए ।
उनले भने, ‘मनपरि खनिएका सडकले अहिले पहिरो आउन थाल्यो ।’ यहाँका ग्रामीण सडक वर्षासँगै जोखिमा पर्नुका साथै आसपासका बस्तीसमेत संकटमा परेको शिखर नगरपालिका-१ पल्लेकीका नेत्रबहादुर शाहीले बताए ।
जिल्लामा अहिले परिरहेको अविरल वर्षाका कारण यहाँका जोरायल-गड्सेरा, निरौंली, खसरे, नापानी, मौवा-मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा-धुर्कोट,राजपुर-बागनेटी, शान्तिनगर-नारीदाङ सडकमा समस्या हुँदै आएको छ ।
सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ-गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरो आउँदा सडकमा समस्या देखिने गरेको हो ।जथाभावी खनिएका ती सडकमा पछिल्लो समय पहिरोको जोखिम बढेको केआइसिंह गाउँपालिका-५ तलिगाउँका स्थानीयवासी तथा शिक्षक चेतराज भट्टले बताए ।
उनले भने, ‘सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका बस्ती मात्रै जोखिम बनायो ।’ यहाँका सडकहरू बस्तीमाथि तथा गाउँ तलबाट खनिएकाले बस्ती नै पहिराको उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका-५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए ।
प्राविधिक र वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij