Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मौरीलाई आहाराको कमी हुँदा मह उत्पादन घट्दै

मौरीलाई आहाराको कमी हुँदा मह उत्पादन घट्दै

  • 477
    SHARES
  • मौरीलाई आहाराको कमी हुँदा मह उत्पादन घट्दै

    म्याग्दी । आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पतिहरू नासिँदै गएपछि पुष्परसको अभाव र विभिन्न किसिमका किरा र रोगको प्रकोपका कारण मौरीलाई आहाराको कमी हुँदा हिमाली जिल्ला म्याग्दीमा मह उत्पादनमा कमी आएको छ ।

    images

    चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न स्थानमा किसानहरूले गरेको मौरीपालन व्यवसायबाट यस वर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लामा रहेका २ हजार ५०० वटा मौरीका आधुनिक घारहरूबाट उक्त परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकामा पछिल्ला वर्षहरूमा भने महको उत्पादन घट्दै जान थालेको हो ।

    पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरू भने चिन्तित बनेका छन् । मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलहरूमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञहरु बताउँछन् ।

    बेनी नगरपालिका-५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताए ।

    उनका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनाका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो । जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिकरूपमा पाल्ने गरिएको छ ।

    अहिले जिल्लाभर तीन सयभन्दा बढी किसानहरू मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिकरूपमा २० जना मात्रै किसानहरू क्रियाशील रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

    मौरीपालनमा किसानहरू धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा किराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ ।

    मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोग, किराको प्रकोप फैलनु, पर्याप्त फूलहरू समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ । किसानहरूले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो ।

    बेनी नगरपालिकाको सुर्केमेला, सिङ्गा, डम्बरा, डडुवा, मङ्गला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगङ्गाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट किसानहरूलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीउ पूँजीलगायत सहयोग हुँदै आएको छ । राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झन्डै आठ केजीसम्म मह उत्पादन हुन सक्ने किसानहरुसँग अनुभव छ ।

    अहिले प्रतिकेजी महलाई १ हजार ६ सय मूल्य पर्दछ । म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराइन जस्ता मुलुकहरूमा प्रवासी नेपालीहरूले पुर्‍याउने गरेका छन् ।

    किसानहरूले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिकरूपमा मनग्य आम्दानी गर्दछन् । जिल्लाका किसानहरूले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन् भने महलाई औषधि र पूजाआजामा प्रसादकारूपमा समेत प्रयोग गरिन्छ ।

    म्याग्दीको बेनी नगरपालिका-५, डडुवाका मौरीपालक किसान मीनबहादुर खत्रीले जलवायु परिवर्तन र मौरीसँगै रोग भित्रिएकाले मह उत्पादन घटेको अनुभव सुनाए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology