Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बेनी नगरपालिकामा सबै वडा आफ्नै भवनमा

बेनी नगरपालिकामा सबै वडा आफ्नै भवनमा

  • 487
    SHARES
  • बेनी नगरपालिकामा सबै वडा आफ्नै भवनमा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ । चारवटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन् ।

    बेनीमा वडा नम्बर ७ र ८, अर्थुङ्गेमा ६ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिए ।

    ‘बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए’, उनले भने, ‘बहुवर्षे क्रमागत योजनाअन्तर्गत चार वटा नयाँ भवन निर्माण चालु आर्थिक वर्षमा सकिएका हुन् ।’

    आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा सुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्र्य चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको २० लाख बजेटबाट ठेक्कामार्फत पुर्णता दिइएको हो ।

    पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख खर्चेर गत वर्ष निर्माण भएको १० नम्बर वडाको तीन कोठे एक तले भवनमा चालु वर्ष विनियोजन भएको ९ लाख बजेटबाट सभाहल बनाएको वडा अध्यक्ष मसविर रोकाले बताए ।

    बेनीको सामुदायिक चोकमा अघिल्ला दुई आवमा तयार पारिएको वडा नम्बर ७ को भवनको संरचनालाई चालु आवमा विनियोजन भएको ८ लाख बजेटबाट ठेक्कामार्फत प्लास्टर, रङरोगन, विद्युत्, पानी जडान गरेर पूर्णता दिइएको हो ।

    नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनःनिर्माण गरेर ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको छ ।नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न १ करोड २१ लाखमा ४ आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो ।

    क्याम्पसचोकका बासिन्दाले २१ लाख संकलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए । अधिग्रहण भएको घरको भुइँतलामुनि भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गरिएको छ ।

    भुइँतलाको सटरसहित तीनवटा कोठा भाडामा लगाइएको छ । पहिलो तलाको तीनवटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुनःनिर्माण गरेर कार्यालय स्थापना गर्न चालु आवमा १० लाख खर्च भएको छ ।

    नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको बेनपा-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए । वडा नम्बर ६ बाहेकको अन्य सबै भवन प्रयोगमा आइसकेका छन् ।

    गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो । प्रशासकीय भवनमा आगामी आवमा तला थप गर्न बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले बताइन् । 

  • सम्बन्धित विषय:

  • # वडा
  • # भवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij