Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

योगप्रति सर्वसाधारणको आकर्षण बढ्दै

योगप्रति सर्वसाधारणको आकर्षण बढ्दै

  • 458
    SHARES
  • योगप्रति सर्वसाधारणको आकर्षण बढ्दै

    म्याग्दी । पछिल्लो समय म्याग्दीमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगाशन अभ्यासमा आकर्षण बढेको हो ।

    नवीन आनन्द योग केन्द्र म्याग्दीले बिहीबारदेखि बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन गरेको छ । योग सिक्न बेनी बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेका नवीन आनन्द योग केन्द्रका संस्थापक तथा योगगुरु नवीन जुग्जालीले बताए ।

    व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाशन सिक्न योग कक्षामा आएको सर्वसाधारण बताउँछन् ।

    नवीन आनन्द योग केन्द्रले विगत १० वर्षदेखि जिल्लाका विभिन्न गाउँमा योग केन्द्र सञ्चालन गर्दै आएको छ । कोरोना संक्रमणको जोखिमकालमा विभिन्न ठाउँमा योगाशन सञ्चालन गरेको केन्द्रले विगत तीन महिनादेखि सदरमुकाम बेनीमा योग गर्ने स्थानको अभावमा योग कक्षा सञ्चालन गर्न सकेको थिएन ।

    तर अहिले मंका खलः म्याग्दीको नयाँ निर्माण गरिएको भवनमा हल भाडामा लिइ योग कक्षा सञ्चालन गरेको योग प्रशिक्षक जुग्गालीले जानकारी दिए । दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणी योगप्रति निकै आकर्षित भएकाे योगगुरु जुग्जालीले बताए ।

    ‘म दिनभरी व्यापारको काममा व्यस्त हुन्छु तर बिहानको डेढ घण्टा म नियमित योग गर्छु’, बेनीका सुरेन्द्र गौतमले भने । ‘योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।’

    गौतमले विगत आठ वर्षदेखि नियमित योगाभ्यास गर्दै आएका छन् । बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने गरेका छन् ।

    बेनी नगरपालिका-७ की रचना पुनले खाना नपच्ने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव बताइन् । ‘योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ’, उनले भनिन् ।

    नवीन आनन्द योग केन्द्रका संस्थापक एवम् योगगुरु जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगायतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो ।

    छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताए ।

    ‘गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,’ उनले भने, ‘आसन, प्राणायम र उचित खानपानको माध्येमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।’

    योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक जुग्जालीले जानकारी दिए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ ।

    व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएका छन् । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

    योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न संघ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ ।

    नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव छ । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण गरिएको छ ।

    योग साधकको संख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij