वेबटिभी खबर
सप्तरी । तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको छ । सो पुल अझैसम्म बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न जान स्थानीयवासीलाई समस्या भएको हो ।
अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरू मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेर्स्याएर अस्थायी पुल निर्माण गरिएको थिए ।
सो पुल तीन वर्षअगाडि आएको भीषण बाढीले बगाएर लागेपछि अहिले मानिसलाई बाढी आएको बेला कुनौली बजार जान समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।
तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि रहेको खाडो खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिए पनि केही दिन अगाडि लगातर परेको वर्षाले गर्दा बनाउन नसकिएको स्थानीय सुरेश यादवले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष शतिशकुमार सिंहले आफ्नो कार्यकालमा उक्त स्थानमा नेपाल-भारत मैत्री पुल बनाउने अथक प्रयास गरेपनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पुर्याएपछि काम अघि बढ्न नसकेको गुनासो गरे ।
दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय रामचन्द्र झाले बताए ।
सुख्खायाममा जसोतसो आवागमन हुने गरेको भए पनि वर्षायाममा जोखिम मोलेर स्थानीयहरू आवतजावत गर्न बाध्य छन् । नेपालको दक्षिणी सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तीर्थयात्रा लगायतका विभिन्न कामका सिलसिलामा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन् ।
लामो समयदेखि कुनोली जोड्ने बजार जानका लागि पुल नभएको विषयमा केन्द्र स्तरबाटै कूटनीतिज्ञ पहल गरी समस्याको समाधान खोजिनुपर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाइ छ ।
यहाँ पक्की पुल बनेपछि सप्तरीसहित अन्य जिल्लाको मानिसहरुलाई कुनोली बजारमा सरसमान किनमेल गर्न सजिलो हुने देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij