वेबटिभी खबर
दमौली । व्यास नगरपालिकाले स्थानीय उद्यमी एवम् कृषकलाई प्रविधि हस्तान्तरण गरेको छ । लघु उद्यम कार्यक्रम (मेड्पा) मार्फत कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो ।
उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्रयाक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले जानकारी दिए ।
नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । वडा नं १ स्थित थानीमाई लघु उद्यमी समूहलाई १ लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र १ लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको हाे ।
वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई १ लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ । वडा नं १० स्थित मिलीजुली लघु उद्यमी समूहलाई ५८ हजार बराबरको हाते ट«याक्टर सहयोग गरिएको छ ।
वडा नं १० स्थित साझा लघु उद्यमी समूहलाई ७७ हजार बराबरको कुखुरा अटो ड्रिकर सहयोग गरिएको छ । वडा नं १० स्थित उद्यमशीलता लघु उद्यमी समूहलाई ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको हो ।
वडा नं १० को कालीडाँडा होमस्टे लघु उद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघु उद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ । वडा नं ६ स्थित सुन्दरदेवी लघु उद्यमी समूहलाई सिलाइ मेसिन र मिलीजुली लघु उद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरूलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । नगरपालिकाले गत वर्ष वडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षमा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो ।
‘लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि प्रविधि हस्तान्तरण गरेका हौं’, आचार्यले भने । चालु आर्थिक वर्षमा ९० उद्यमी सिर्जना गर्नुपर्ने लक्ष्य रहे पनि १०४ उद्यमी सिर्जना भएको उनले जनाकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij