वेबटिभी खबर
संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरु’ अर्थात संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरु हुँदैनन् । आमाको महत्त्व जीवनका कुन क्षणमा हुँदैन र ? दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहं भूमिका हुन्छ ।
बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरूको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका काममा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । जाँगरिलो र पेसाप्रति प्रतिबद्ध शिक्षकले अभिभावकको त्यो विश्वासलाई आफ्नो कर्तव्यमा रूपान्तरण पनि गरिरहेका हुन्छन् । विद्यालयको एक्लो प्रयासले विद्यार्थीको गुणस्तरीय शिक्षाको लक्ष्य पूरा हुन सक्दैन ।
शिक्षाविद् प्रा.डा.विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेखमा व्यक्त गरेका छन् । ‘बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।’ आमाका ती भनाइलाई डा.कुसियतले सम्झेका मात्र छैनन्, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक गरेका छन् ।
शैक्षिक गुणस्तर सुधारमा आमाहरूको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल हुन थालेको छ । काठमाडौंको मुटु पद्मोदयमोडस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहरूलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरु गरेको छ । विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् ? त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरूले सहर्ष स्वीकारेर शिक्षा सुधारको यात्रामा सामेल हुने सङ्कल्प गरेका छन् ।
‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने आदर्श वाक्य बोकेको यस ऐतिहासिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम आमाहरू सक्रिय नभई विद्यार्थीले राम्रोसँग सिक्न नसक्ने पक्षलाई आत्मसात् गरेर चरणबद्धरूपमा आमाहरूको भेला आयोजना गरिएको र यो प्रयोगलाई निरन्तरता दिने बताए । ‘छोराछोरीले गृहकार्य गरेका छन् कि छैनन् भनेर नियमित हेर्दिनु । सफासुग्घरमा ध्यान दिन लगाउनु । विद्यालयले नबोलाए पनि समय समयमा आएर सोधपुछ गर्दिनु,’ आमाहरूसँगका अपेक्षा सुनाउँदै प्रधानाध्यापक गौतमले भने ।
आमा समूहको बैठकमा सहभागी निर्मला खत्रीले यस प्रकारको बैठक विद्यालयमा पहिलो पटक भएको र यसमा बच्चाहरूको पढाइबारे शिक्षक र अभिभावकबीच दोहोरो संवादको अवसर मिलेको प्रतिक्रिया दिए ।
अभिभावक शिक्षक सङ्घकी सदस्य खत्रीका दुई सन्तान सोही विद्यालयमा अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र (तुल्सीप्रसाद) अवस्थीले पढाइमा सुधार ल्याउन अभिभावलाई बोलाएर विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्ने कोसिस भइरहेको बताए । आधारभूत तहदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइने सो विद्यालय स्थानीय व्यापारी र व्यवसायीका छोराछोरी बढी अध्ययन गर्छन् ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय, अनुपराज शर्मा, पूर्वमन्त्रीहरू डा.प्रकाशचन्द्र लोहनी, कमल थापा, कलाकारहरू हरिवंश आचार्य, मनोज गजुरेल, रामकृष्ण ढकालका पूर्वविद्यालयको रूपमा रहेको पद्मोदयमा पछिल्लो समयमा विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दो छ ।
पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा १ देखि ३ सम्म मन्टेश्वरी ढाँचामा सिकाइन्छ । विद्यालयले खेल्दै सिक्दैको मान्यतालाई कार्यान्वयन गरेको छ । विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ४९० र कक्षा ११ र १२ मा ५७० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीतर्फ कक्षा १० सम्म ४२ र माथिल्लो कक्षामा २८ जना कार्यरत छन् ।
आठ रोपनी जग्गामा फैलिएको सो विद्यालयले विद्यार्थीको चाप थेग्न कक्षा ६ देखि ९ सम्म भर्ना गर्नुपूर्व प्रवेश परीक्षा लिने गरेको छ । यस वर्ष ती कक्षामा ३५० जनाले प्रवेश परीक्षा दिएकामा १५० नयाँ विद्यार्थीलाई मात्रै भर्ना गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिए ।
उनले पुरानो कमला भवन भूकम्पपछि पुनः निर्माण भइनसकेकाले भवन र शिक्षकको अभावका कारण आए जति विद्यार्थी लिन नसकिने बताए । केन्द्रीय सरकारको नमूना विद्यालयको अनुदान पाउने मापदण्डका लागि दुई रोपनी जग्गा नपुग्दा यस विद्यायले त्यस कार्यक्रममा आवेदन दिन पाएको छैन ।
विसं २००३ मा स्थापित सो विद्यालयलाई काठमाडाैं महानगरपालिकाले कक्षा ११ र १२ मा विज्ञानतर्फ नमूना बनाउने लक्ष्यसहित अनुदान दिन थालेको छ । उक्त रकम न्यून भएको विज्ञान प्रयोगशालाको पूर्वाधार निर्माणका लागि करिब एक करोडको जोहो गर्न विद्यालयले कसरत गरिरहेको छ ।
काठमाडाैं महानगरपालिकाका–२८ का अध्यक्ष भाइराम खड्गीले सो विद्यालयको पूर्वाधारका लागि सक्दो लगानी गर्न योजना तय गरिएको बताए । विद्यालयको भवनमा विभिन्न १४ वटा सटर भाडाबाट मासिक रू साढे पाँच लाख आम्दानी हुने गरेको छ । उक्त आयबाट पूर्व प्राथमिक तहलाई सवलीकरण र निजी स्रोतका शिक्षकको पारिश्रमिक दिने गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij