Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा स्थानीयलाई समस्या

राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा स्थानीयलाई समस्या

  • 371
    SHARES
  • राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा स्थानीयलाई समस्या

    कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासी समस्यामा परेका छन् ।

    जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भूभागमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना र बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट विद्युतीय सेवा लिइरहेका छन् ।

    पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उदेश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका-६ मा विद्युत् सवस्टेशन निर्माण भए पनि नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि उक्त सवस्टेशन प्रसारण लाइनसँग जोड्न नसक्दा केन्द्रीय प्रसारण पुर्‍याउन चुनौती थपिँदै आएको छ ।

    प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि लाइन लिन नसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उक्त क्षेत्रमा खम्बासमेत पुर्‍याइसकेको छ । २०७३ मा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न बाबियाचौरमा सवस्टेसन निर्माण गरेको थियो ।

    तर सञ्चालनमा नआएपछि अहिले सवस्टेसनमा भएका संरचनासमेत बिग्रँदो अवस्थामा छन् । सवस्टेशनको काम पूरा भए पनि विद्युत् लाइनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । लाइन विस्तारका क्रममा रुख काटिने भएपछि प्रसारण लाइन विस्तारको काम रोकिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाँडै सुरु हुने जनाएको छ । प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख शम्भुकुसियत यादवले भर्खरै अनुमति पाएकाले छिट्टै काम सुरु हुने बतााए ।

    कोहलपुर-वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत् विस्तारको काम सुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो ।

    वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत् लाइन कैलालीको चिसापानी-सोल्टा-बाबियाचौर-बड्डिचौर-बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सवस्टेशनमा जोडिनेछ । मोहन्याल गाउँपालिकामा विद्युत् विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि विस्तार गरिसकेको छ ।

    सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप खम्बा हाल्ने र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij