वेबटिभी खबर
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय बासिन्दाको आवश्यकता अनुसार योजना छनोट गरी कार्यक्रम कार्यान्वयन गर्यो भने मात्रै लाभदायी हुने बताएका हुन् ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।
उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै देशको विकास गर्न सकिने बताउँदै उनले कार्यक्रममा सबै वर्ग समुदायका बेरोजगार नागरिकलाई सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा युवा सहभागितालाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा कैलाली र कञ्चनपुरका सबै पालिका तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकको सहभागिता थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij