वेबटिभी खबर
बाँके । बाँके जिल्लामा बालश्रम न्यूनीकरणका लागि अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेको बारेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा बालअधिकारको क्षेत्रमा दर्जनौं सामाजिक संस्था देखिए पनि ताजा तथ्यांकले बालश्रमिकको संख्या घटेको देखाउँदैन ।
जिल्ला महिला तथा बालबालिका बालकल्याण समितिको एक वर्षअघिको तथ्यांकमा बाँके जिल्लामा करिब ४ हजार बालश्रमिक रहेकोमा अहिले पनि त्यो संख्या नघट्नुमा सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको देखिएको छ ।
बालबालिकालाई बालश्रमबाट मुक्त गर्नका लागि उनीहरूका अभिभावकलाई रोजगारको अवस्था सिर्जना गर्ने कुनै कार्यक्रम नभएकाले पनि प्रगति नदेखिएको जनाइएको छ ।बालश्रमिकका लागि शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बाँके युनेस्को क्लबले गर्दै आएको छ ।
सरकारले समेत बालश्रम न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू गरेको नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख शोभा शाहको भनाइ छ ।
बढ्दो सहरीकरण, बसाइँसराइ, जनसंख्या वृद्वि, अभिभावकलाई, रोजगारको वैकल्पिक व्यवस्था नहुनु, सरकारी तथा गैरसरकारी निकायबीच योजना निर्माण तथा कार्यक्रम सञ्चालनमा समन्वय नहुनु र ग्रामीण क्षेत्रमा पर्याप्त विकासका पूर्वाधार निर्माण हुन नसक्दा पनि जिल्लामा बालश्रम समस्या रहेको हाे ।
कानुनले १४ वर्षमुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाइने व्यवस्था गरे पनि नेपालगञ्जका विभिन्न ग्यारेज, होटल, रेष्टुरा, यातायात, कलकारखाना र घरमा बालबालिकाको प्रयोग श्रमिक तथा कामदारकारूपमा बढ्दै गए पनि त्यसको रोकथाम प्रभावकारी हुन सकेको छैन ।
‘जटिल सामाजिक संरचना तथा आर्थिक अभावका कारण जिल्लामा बालश्रम नियन्त्रणमा कठिनाइ आउने गरेको छ’, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने ।
उनले बालश्रम रोकथामका लागि बालबालिका क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाको पनि उत्तिकै दायित्व रहेको जनाउँदै बालश्रम न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरी अनुगमन संयन्त्रलाई प्रभावकारी बनाइने बताए ।
‘अनुगमनले मात्र बालश्रम नियन्त्रण नहुने भएकाले बालश्रमिक प्रयोग गर्नेहरूमाथि राज्यका निकायले कारबाही पनि थाल्नुपर्छ’, इन्सेकका क्षेत्रीय संयोजक भोला महतले भने ।
जिल्ला महिला तथा बालबालिका ज्येष्ठ नागरीक समाज कल्याण समितिको तथ्यांकअनुसार, यस जिल्लामा हाल ४ हजारभन्दा बढी बालश्रमिकमध्ये करिब १ हजार ५०० घरेलु कामदार, ४०० होटल रेष्टुरामा, ४०० यातायात तथा ग्यारेजमा र अन्य सडक मजदुरकारूपमा कार्यरत छन् ।
केही समयदेखि भने बाँके युनेस्को क्लबले आर्थिक अभावका कारण बालश्रमिक हुन बाध्य बनाइएका बालबालिकाका परिवारलाई आर्थिक उपार्जन गरी बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान सञ्चालन गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र युनिसेफको सहयोगमा बालमैत्री स्थानीय सुशासन कार्यक्रमअन्तर्गत क्लबले अहिले बाँके जिल्लाका १५६ बालश्रमिकलाई बालश्रमबाट विस्थापन गरी विद्यालय पठाउन तिनका परिवारलाई व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग र छात्रवृत्ति उपलब्ध गराएको छ ।
ती बालश्रमिकमध्ये ६३ जनालाई व्यवसाय सञ्चालनका लागि प्रत्येक परिवार ८ हजार र ९३ बालबालिकालाई एक वर्ष बराबरको ८ हजार बराबरको छात्रवृत्ति उपलब्ध गराइएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij