Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उदीपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनकाे निमार्ण सुस्त गतिमा

उदीपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनकाे निमार्ण सुस्त गतिमा

  • 391
    SHARES
  • उदीपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनकाे निमार्ण सुस्त गतिमा

    लमजुङ । मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर-मार्कीचोक-भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ ।निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ ।

    आयोजनाका उदीपुर-भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भने, ‘विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन’, कामसमेत ढिलासुस्ती भइरहेको छ ।

    हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उनको भनाइ छ । छयत्तर किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पुर्‍याउन १९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

    यीमध्ये हालसम्म १८ वटा टावर निर्माण भइसकेको छ भने, ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताए । उक्त टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ ।

    १८ वटा खडा भएको टावरमध्ये १७ वटा उदीपुरदेखि मध्मर्स्याङ्दी र एकवटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ । ‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ ।

    उदीपुरदेखि मध्यमर्स्याङ्दी खण्डको ६ किलोमिटर खण्डमा १७ वटा टावर उठाउने काम गरेर तार तान्ने कार्य भइरहेको छ ।

    उनले भने, ‘यहाँ विभिन्न आयोजना रहेकाले, आयोजनामा उत्पादिन बिजुली जोड्न सहज हुने भएकाले पहिलो प्राथमिकता यस खण्डमा दिएरअघि बढिरहेको र अब एक हप्ताभित्रमा तार तान्ने काम सम्पन्न हुनेछ ।’

    ६ किलोमिटर खण्डको निर्माण अघिल्लो जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोभिड-१९ महामारीको रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ ।

    यस्तै लमजुङ उदीपुर र भरतपुरमा गरी दुईवटा सवस्टेशन पनि निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । २०१८ जनवरी १७ गतेदेखि अघि बढेको उक्त आयोजना तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भएपनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ छ ।

    उनका अनुसार सम्झौताअनुसार समयमै सम्पन्न नभइसकेपछि थप गरिएको समयअवधि सकिएकाले अब कति समय थप गर्ने भन्नेबारे छलफल भइरहेको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको उक्त आयोजना सम्पन्न गर्नका लागि करिब ३ अर्ब अनुमान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij