वेबटिभी खबर
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सीसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ ।
नगरपालिकाले पहिलो चरणमा कलंकी-नागढुंगा-पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सीसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो ।
यसबाट उक्त राजमार्गमा सडक दूर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सीसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ ।
यसैबीच नगरप्रमुख घनश्याम गिरीले कलंकी-नागढुंगा-पिपलामोड सडकखण्डमा हुँदै गरेको दोस्रो चरणको सडक बत्ती तथा सीसी क्यामेरा जडान विस्तार कार्यको आज निरीक्षण अनुगमन गरेका छन् ।
उनले भने, ‘यसअघि पहिलो चरणमा उक्त सडक खण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडक बत्ती जडान गरिएको थियो । यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।’
नगरप्रमुखको पहिलो कार्यकालमा नगरपालिकाको सम्पूर्ण वडालाई सडक बत्ती जडान गर्न बजेट विनियोजित गरिएको उनले जानकारी दिँदै तत्कालीन समयमा लगभग ८ हजार थान सडक बत्ती विभिन्न वडामा जडान भएको बताए ।
उनले भने, ‘यस आर्थिक वर्षमा उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत १५ हजार थान सडक बत्ती नगरभरिका मुख्य तथा भित्री मार्ग, धार्मिक तथा साँस्कृतिक स्थल, उद्यानलगायतका सार्वजनिक स्थल तथा अधिकांश स्थानमा जडान गरिनेछ ।’
अभियानसँगै यसै वर्ष नगरपालिकाले आवश्यक अधिकांश ठाउँमा ‘फ्रि वाइफाई’ तथा ‘सीसी क्यामेरा’ जडान गरिने नगरप्रमुख गिरीले जानकारी दिए । यी प्रविधि र बत्ती जडानले नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रण हुने जनाइएको छ ।
उनले भने, ‘सुरक्षित र प्रविधिमैत्री नगरपालिका बनाउन उच्च प्राथमितामा दिएको छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij