वेबटिभी खबर
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मानव-वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गरेका छन् ।
मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् ।
झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक-पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गरेका थिए ।
बर्दियाको मधुवन नगरपालिका-१, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक-पटक आक्रमण गर्ने गरेका छन् । गत जेठमा बाघले पटक-पटक आक्रमण गरेपछि मधुवन नगरपालिका-२ का स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए ।
उक्त घटनापछि मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटसहितको टोलीले काठमाडौं आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटी वन्यजन्तुको आक्रमण रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो ।
तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिए । वन क्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाऊन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्याउन केन्द्रमा माग गरिएको पनि प्रजिअ बास्तोलाले बताए ।
गृहमन्त्री खाणले वन सचिव कँडेलसँग पनि जंगली जनावर बस्तीमा पस्न नदिन के-के गर्न सकिन्छ ?भनेर छलफल गरेका थिए । गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो जिल्लाको घटनास्थितिका बारेमा जानकारी लिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij