वेबटिभी खबर
जाजरकोट । भेरी नगरपालिका-१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् ।
यहाँ एकैपटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासीले असोजसम्ममा खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन् ।
असोजसम्म तीनै वटा योजना निर्माण गरिने लक्षका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । कुदुको ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने उनले बताए ।
भेरी नदीको पानीलाई लिप्टमार्फत कुदुमा ल्याई यहाँ १२ महिना सेवा प्रवाह गर्न लागिएको छ । पहिलो लिप्ट ८९ लाखको लागतमा, दोस्रो १ करोड ३ लाखको लागतमा र तेस्रो ९० लाखको लागतमा निर्माण भइरहेको छ ।
लामो समयदेखि सुक्खा र खडेरीले पिउने पानीको समस्या झेल्दै आएको कुदुमा ३ वटा लिप्ट सिँचाइ योजना निर्माण भए पश्चात् प्रर्याप्त सिँचाइ गर्नलाई पानी पुग्ने बताइएको छ ।
एकसय दश हेक्टर जमिनमा भेरीको पानीबाट प्रर्याप्त सिँचाइ पुर्याउन सकिएमा यहाँको जमिनलाई खाद्यान्न उत्पादनमा प्रयोग गर्न सकिने भएको छ ।
भेरीको पानीले सिँचाइ गरेर धान, गहुँलगायत अन्नबाली र व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी शेरबहादुर बस्नेतले बताए ।
कुदुको विशाल फाँटलाई अन्न उत्पादनकोरूपमा प्रयोग गरी जिल्लालाई नै सहयोग पुग्ने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।
जिल्लाको ठूलो फाँटमध्ये यो एक रहेको छ । अहिले पानीको अभावमा यहाँका बासिन्दाले आकाशे पानीको भरमा मकैबाली लगाउँदै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij