वेबटिभी खबर
सिरहा । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । उक्त अवधिमा १० करोड ५१ लाखको डिएपी र ७ करोड ८१ लाखको युरिया बिक्री गरेको हो ।
आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डिएपी मल बिक्री गर्ने लक्ष्य रहेकोमा ४ हजार ९५४ मेट्रिक टन युरिया र २ हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिए ।
गत आवमा युरिया ४ हजार ९५४ मेट्रिक टन र डिएपी २ हजार ३४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताए । यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो ।
अघिल्लो आवको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ ।
प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डिएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताए ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जनाएको छ ।
बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडल बताए ।
सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट ट्रेडिङले गाउँ-गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्रीवितरण गर्दै आएको छ ।
धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलको भनाइ छ ।
डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक-पटक पत्राचार गरे पनि बर्सेनि घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलको समस्या भइरहेको नेपाल कृषक महासंघ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए ।
मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसान मलका लागि भौंतारिने गरेका छन् । कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताए ।
यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij