वेबटिभी खबर
काठमाडौं । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन ।
गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको छ । आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्ललीमा परेका छन् ।
राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् । उनीहरू घाम लाग्दा शितलता लिन जंगलतिर धाउन्छन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् ।
दिनमा पानी पर्दा छिमेकी वा आफन्तको घरमा ओत लाग्न र राति पानी परे ओत लाग्ने नमिल्ने भएकाले रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको पीडित झम्बा तामाङले बताइन् । उनी मात्र होइनन अन्य अग्नि पीडितहरूको पीडा उही छ । घाम र पानीबाट मात्र होइन पीडितहरु सर्पजस्ता विषालु जीवजन्तुबाट उत्तिकै जोखिममा छन् ।
उनले भनिन्, ‘पछिल्लो समय लगातार परेको वर्षाका कारण सर्पले सास्ती दिने गरेको उनीहरु बताउँछन् । पानी परिरहेका कारण राति पहिरो र सर्प आउँछ कि भनेर हेरिरहनुपर्छ ।’
सरकारले मात्र होइन यहाँ क्रियाशील विभिन्न संघसंस्थाले सुरुमा चासो देखाए पनि पछि पीडितको समस्या समाधानमा चासो नदिएको पीडितहरु गुनासो गर्छन् । आगलागी भएको दोस्रो दिन नै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमन गरेर घरहरूको पुनर्निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए ।
घरको पुनर्निर्माणको लागि पीडित र छायाँनाथ रारा नगरपालिकासँग नक्सा पास गर्न बारम्वार पहल गरेको र घर बनाउँदा भुकम्प मापदण्ड, भवन आचारसंहिताको मापदण्ड पालना गरि वडा कार्यालयबाट सिफारिस गरि पहिलो किस्ताको रकम प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
उनले भने, ‘प्रदेश सरकारबाट आएको रकम कोषमा जम्मा भएको छ । पीडितले नक्सा पास गरेर आए प्रदेश सरकारबाट प्राप्त रकम प्रदान गरिनेछ ।’ प्रदेश सरकारले क्षतिपुर्तिको आधारमा अधिकतम ४ लाखसम्म रकमको राहत दिने प्रजिअ महतको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij