Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मकवानपुरका युवा कृषक भन्छन्– जाँगर र लगन भए देशमा सबैथोक छ

मकवानपुरका युवा कृषक भन्छन्– जाँगर र लगन भए देशमा सबैथोक छ

  • 465
    SHARES
  • मकवानपुरका युवा  कृषक भन्छन्– जाँगर र लगन भए देशमा सबैथोक छ

    केही बढी कमाइका लागि ‘सुन’ फल्ने गाउँ र आफ्नो मातृभूमिसमेत छाडेर हिँड्नेलाई परिवारसँगै गाउँ मै बसेर काम गरे प्रशस्त पैसा र आत्मसन्तुष्टि कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुरका एक युवा ।

    मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका-५ छबेलीका ३६ वर्षीय दीपक पुडासैनी कृषि उद्यमी, कुखुरापालक, बङ्गुरपालक, हरितगृह मिस्त्री, कम्प्युटर प्रशिक्षक, कम्प्युटर मेकानिक, पावर टिलर चालक, पावर टिलर मेकानिक, कृषि प्रशिक्षकजस्ता धेरै काममा दक्ष मात्र होइन, ती सबै कामलाई पेसाका रूपमा उनले अँगालेका छन् ।

    पुडासैनीको मासु पसल पनि छ । उनी आफैंले उत्पादन गरेको कुखुरा काटेर बेचिने गरेका छन् । उनले आफ्नै तीन रोपनी र १५ रोपनी जमिन भाडामा लिएर पुडासैनीले मौसमअनुसारका तरकारी उत्पादन गरी वार्षिक २५ लाखसम्मको कारोबार गर्दै आएका छन् ।

    आम्दानी भएको मध्ये खर्च कटाएर मासिक ६० देखि ७० हजारसम्मको बचत गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार मौसम, बजार र अन्य केही कुराले साथ दिए त्यो आम्दानी बढ्न सक्ने उनको भनाइ छ ।

    ‘समय र मौसमको ख्याल गर्न चुक्यो भने घाटा पनि बेहोर्नुपर्ने रहेछ । बजारमा कुन महिना के तरकारी निकाल्दा भाउ पाउन सकिन्छ भन्ने अनुमान भएन भने उत्पादनले मूल्य नपाउन सक्छ’, उनले भने ।

    पुडासैनीले टनेलभित्र तरकारी खेती गर्दै आएका छन् । उनलाई खेतीमा उनकी श्रीमतीले साथ दिँदै आएकी छिन् । छ/सात वर्षदेखि नै आफूहरूले तरकारी खेती गर्दै आइरहेको भए पनि टनेलमा रोग कम लाग्ने पानी, हावाहुरी तथा सामान्य असिनाबाट समेत जोगाउन सकिने र तापक्रम व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ ।

    टनेलमा तरकारी खेती गर्दा गाेडमेल गर्न, मलखाद हाल्न, चिस्यानको व्यवस्थापन गर्न, उत्पादन टिप्नलगायत धेरै काम गर्न सजिलो हुनाका साथै बीउबिजन मललगायतको आँकलन गर्न पनि सजिलो भएको अनुभव उनको छ ।

    पत्रकारितामा स्नातक गरेका तथा कम्युटरको प्रशिक्षक प्रशिक्षण गरी कम्प्युटर शिक्षालय सञ्चालन गरेका पुडासैनीले जीवनमा नगरेका काम थोरै मात्र बाँकी छन् ।

    थोरै कुखुरा पालेर सुरु भएको पुडासैनीको कृषिकर्म आज देशमा ‘केही छैन, केही गर्न सकिन्न र केही पनि हुन्न भन्ने जमातका लागि यो देशमा सबैथोक छ तर, जाँगर र लगन आवश्यक छ भन्ने’ गतिलो उदाहरण बन्न पुगेको छ ।

    पुडासैनीले विभिन्न प्रकारका तरकारी तितेकरेला, काउली, बन्दा, गाँठेकोभी, गोलभेँडा, भेडे खुर्सानी, गाँजर, माछे खुर्सानी, काँक्रोसँगै दैनिक सयौँ किलोग्राम च्याउ उत्पादन गर्दै आएका छन् ।

    ब्रोइलर कुखुराको संख्या घटाएको कारण आफैंले खोलेको मासु पसलमा काटेर र एक-दुईवटा कुखुरा चाहिने स्थानीय ग्राहकलाई मात्र बेच्छन् । यसो गर्दा मूल्य पनि बढी नै आउँछ उनले बताए ।

    कृषि उत्पादनमा लागेर राम्रै आम्दानी गरिरहेपनि केही थप व्यवस्था राज्यका तर्फबाट भइदिने हो भने अझै आम्दानी बढाउन सकिने पुडासैनीको भनाइ छ । बजार अहिले पनि विचौलियाको कब्जामा रहेको, आफ्नो उत्पादनको मूल्य व्यपारीले नै तोक्ने गरेको, सुरक्षित भण्डारणका लागि शीतभण्डार अभाव रहेको उनले बताए ।

    मल, बीउ तथा अन्य कृषि सामग्रीको मूल्यको नियमन तथा नियन्त्रण गर्नुपर्ने, मल, बीउ आदि सहजरुपले उपलब्ध गराउनुपर्ने लगायतका गुनासो पुडासैनीकाे छ । नेपालका रैथाने च्याउ अनुसन्धान गरेर त्यसको बीउ उत्पादन गर्ने र व्यावसायिक खेती गर्ने हो भने मनग्य आम्दानी गर्न सकिनेमा त्यसो हुन नसकेको उनले जानकारी दिए ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij