वेबटिभी खबर
काठमाडौं । खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान-प्रदान गरेका छन् ।
मझुवागढीस्थित कालिका भगवती मन्दिर दर्शनका क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबीच शनिबार भेटघाटका साथै अनुभव आदान-प्रदान भएको हो ।
ज्येष्ठ नागरिक संघ खोटाङले कार्यालयको प्रांगणमा ओखलढुंगाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ-आफ्नो जिल्लामा भए गरेका कामको बारे दुबै जिल्लाका ज्येष्ठ नागरिकले एकअर्कालाई सुनाएका थिए ।
आ-आफ्नो संस्थागत काम तथा प्रगतीका बारे अनुभव बाँडेको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
ज्येष्ठ नागरिकलाई यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभर विवाह नगरी बसेका वृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा चर्चा चलेको थियो ।
कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत लगायत सहभागी थिए । सो टोलीले बिहान कालिका भगवती मन्दीरको दर्शन गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij